डडेलधुरामा पहिरोमा परी १ जनाको मृत्यु, सडक अवरुद्ध

वर्षाका कारण तराई र पहाड जोड्ने भीमदत्त राजमार्ग, डडेलधुरा–डोटी जोड्ने सेती राजमार्ग र बुडर–जोगबुडा जोड्न सडकमा क्षति पुगेको छ।

डडेलधुरा– डडेलधुरामा पहिरोमा परी एक जनाको मृत्यु भएको छ। परशुराम नगरपालिका–३ बुङाका ५६ वर्षीय शिक्षक नवराज पनेरुको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक कार्कीका अनुसार शनिबार बेलुका पहिरोबाट खसेको ढुंगा लाग्दा पनेरुको मृत्यु भएको हो। 

लगातारको झरीले खानेपानीको मुहानमा क्षति पुग्दा धारामा पानी बन्द भएको थियो। परशुराम वडा नं. ३ कै भातगाडा भनिने स्थानमा पानीको मुहान बनाउन गएका बेला माथिबाट खसेको पहिरोको ढुंगा लाग्दा पनेरुको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरक्षक कार्कीले बताए। 

तीन दिनदेखि लगातार वर्षाका कारण तराई र पहाड जोड्ने भीमदत्त राजमार्ग, डडेलधुरा–डोटी जोड्ने सेती राजमार्ग र बुडर–जोगबुडा जोड्न सडकमा क्षति पुगेको छ। भीमदत्त राजमार्गको गन्यापधुरा गाउँपालिका–१, शाहुखर्क, अमरगढी नगरपालिका–६, भालुमारेमा पहिरो खस्दा अवरुद्ध भएको हो। 

शाहुखर्कमा आइतबार बिहान पहिरो खसेको थियो भने भालुमारेमा शनिबार राति नै पहिरो खसेको जनाइएको छ। डोजरले पहिरो हटाएपछि आइतबार दिउँसोबाट राजमार्ग सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए।

उनका अनुसार आइतबार बिहान सेती राजमार्गको रडुवामा पहिरो खस्दा केही समय राजमार्ग अवरुद्ध भएको थियो। पहिरो हटाएपछि सेती राजमार्ग पनि सञ्चालनमा आएको छ। तर शनिबारदेखि अवरुद्ध भएको बुडर–जोगबुडा सडक अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन। सडकखण्डको सुनखोला नजिक माथिबाट पहिरो खसेको परशुराम नगरपालिकाका मेयर भरत जोशीले जनाकारी दिए। शनिबार राति खसेको पहिरो हटाउन सकिएको छैन।

शुक्रबारदेखि लगातरको झरीले जनजीवन प्रभावित भएको छ। जिल्लाका भागेश्वर गाउँपालिका र अजयमेरु गाउँपालिकाले एक सूचना जारी गरी विद्यालय बन्द गरिएको छ। बाढीपहिरोको जोखिमलाई मध्यनजर गरी विद्यालय बन्द गरिएको अजयमेरुका प्रमुख प्रशासकीय अधिकृत जितेन्द्र ओझाले जानकारी दिए। 

विशेष कामबाहेक स्थानीय घरबाहिर निस्कन सकिरहेका छैनन्। खोलामा पानीको सतह बढ्दै गएको छ। यद्यपि डडेलधुरामा खोला नालाले अहिलेसम्म क्षति नपुगाएको उनले जानकारी दिए। ग्रामीण कच्ची सडक पूर्ण रूपमा बन्द रहेको छ। 

किसानले लगाएको मकैवालीमा वर्षाले ठूलो क्षति भएको छ। अविरल वर्षासँगै आएको हावाहुरीले मकैवाली नष्ट गरेको किसान बताउँछन्। किसानले लगाएको मकै सबै ढलेको छ। पानी पर्दा रोपाइँ गर्न सहज भए पनि मकैलगायत अन्य खेतीपातीमा भन क्षति पुगेको छ।