देशका विभिन्न स्थानमा रहेका ८० खानी खोजतलास गर्न अनुमति

चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म विभिन्न कम्पनीलाई खानी खोजतलासका लागि खानी तथा भूगर्भ विभागले प्रमाणपत्र प्रदान गरेको छ।

पाल्पामा चुनढुंगा खानी अनुगमन। तस्वीर: खानी तथा भूगर्भ विभाग

काठमाडौँ– खानी तथा भूगर्भ विभागले देशका विभिन्न स्थानमा रहेका ८० वटा खानी खोजतलासका लागि अनुमति दिएको छ। चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म विभिन्न कम्पनीलाई खानी खोजतलासका लागि प्रमाणपत्र प्रदान गरिएको विभागका सूचना अधिकारी नारायण बाँस्कोटाले जानकारी दिए।

सोही समयमा आठवटा खानी उत्खनन‍्का लागि प्रमाणपत्र प्रदान गरेको छ। चालु आवमा देशभरिका विभिन्न १०७ खानीको अनुगमन गरेको र ११४ स्थानको उत्खनन् तथा खोजतलास अनुमति प्रमाणपत्र रद्द गरेको सूचना अधिकारी बाँस्कोटाले बताए।

यस्तै, दैलेखमा रहेको सम्भावित पेट्रोलियम भण्डार क्षेत्र अन्वेषणका लागि चीन सरकारको सहयोगमा ड्रिलिङ कार्य संचालन भइरहेको विभागले जनाएको छ। हालसम्म ९५१ मिटर ड्रिलिङ कार्य सम्पन्न भइसकेको छ।

विभागले चालू आवमा देशका विभिन्न भूभागमा चार रेक्टर स्केलभन्दा माथिका ५७ भूकम्प मापन भएको समेत जनाएको छ। विभागले यस अवधिमा गोरखाको बारपाकमा भूकम्प तथा पहिरोसम्बन्धी अभिमुखीकरण, मधेस प्रदेशअन्तर्गत जीतपुर सिमरा र आसपासका क्षेत्रको भूइन्जिनियरिङ तथा भूवातावरणीय अध्ययन गरिएको पनि बाँस्कोटाले जानकारी दिए।

विभागले पहिलो चरणमा सुर्खेतस्थित चुनढुंगा खानीको प्रवर्द्धन सम्पन्न गरेको र उक्त समयमा ५८ करोड ७४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।