मुगुमा एसएलआर हतियारसहित ३ जना लुटेरा पक्राउ

गत जेठ १४ गते मुगुम कार्मारोङ गाउँपालिका–१ मा आठ जनाको हतियारधारी समूहले ‍लुटपाट गरेको थियो।

काठमाडाैँ– हतियार देखाएर लुट्दै हिँड्ने समूहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

आइतबार साँझ पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय मुगुले लुटेरा समूहमा संलग्न ३ जनालाई एसएलआर हतियारसहित सार्वजनिक गरेको हो। प्रहरीले ६ जना पक्राउ गरेको थियो तर उनीहरूमध्ये ३ जनाको मात्र प्रत्यक्ष संलग्नता देखिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा जुम्ला गुठिचौर गाउँपालिकाका–३ का आक्रोश पर्शे भनिने गणेश भण्डारी, सोही ठेगानाका पूर्णप्रसाद भण्डारी र वडा न ४ का कमल थापा रहेका छन्। घटनामा संलग्न अन्य पाँच जना अझै फरार रहेका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी दिए।

गत जेठ १४ गते मुगुम कार्मारोङ गाउँपालिका–१ डोल्फु गाउँका स्थानीयहरू यार्सागुम्बा संकलन गर्न पाटनतिर गएको मौका छोपी आठ जनाको हतियारधारी समूहले गाउँमा लुटपाट गरेको थियो। लुटेरा समूहले गाँउका २४ वटा घर, एउटा गुम्बाबाट सुन ३५ तोला, चाँदी ९९४.५ तोला, बुद्धको मूर्ति, रिणिमोक्ष माईको मूर्ति, मुगाको माला ९५ तोला, यार्सा, मोबाइल र ५० लाख २५ हजार रुपैयाँ नगद लुटेको स्थानीयले जाहेरी दिएका छन्।

घटना भएको झन्डै एक महिनापछि लुटपाटमा संलग्न आठ जनाको टिममध्ये ३ जनालाई पक्राउ गर्न सफल भएको प्रहरी नायव उपरीक्षक थापाले बताए। प्रहरीले उनीहरूको साथमा कटुवा पेस्तोल १ थान, एसएलआर १ थान, २ थान म्याग्जिन, २५ राउन्ड गोली, ३ थान ओकेटोके, १ थान बाइनाकुलर, ५ सेट आर्मीको कम्ब्याक ड्रेस, १ थान ट्रेकिङ झोला र एउ६ा सल पनि बरामद गरेको छ।