बाढीले कञ्चनपुर र कैलाली डुबानमा, जनजीवन प्रभावित

कैलाली र कञ्चनपुरमा डुबान र बाढीबाट आउने खतरालाई मध्यनजर गरेर कर्णाली र महाकाली नदीको पानीको सतहको प्रहरीले निगरानी गरिरहेको छ।

बाढीले जलमग्न कैलालीको टीकापुर क्षेत्र

कैलाली– लगातार वर्षापछि आएको बाढीका कारण कैलाली र कञ्चनपुरको जनजीवन प्रभावित बन्न पुगेको छ। कैलालीको भजनीमा आइतबार राति बाढी बस्तीमा पसेपछि केही परिवार विस्थापित भएका छन्। पालिका र स्थानीय मिलेर जोखिम क्षेत्रका नागरिकलाई रातभरि हुलाकी सडक र उच्च भवनमा सारिएको छ। 

स्थानीय कृष्ण धमालाका अनुसार भजनीमा केही परिवार रातभरि बस्ती छोडेर सडकमा सरेका छन्। नदी तथा खोलामा पानी बढेपछि राति बस्तीमा रहेका मानिसहरू बालबच्चा र बस्तुभाउसहित हुलाकी सडकमा बसेका हुन्। बाढीले भजनीका सबैजसो वडामा डुबान भएको छ। वडा नं ८ का सबै घर डुबानमा परेका छन्। 

“निरन्तरको वर्षाले बस्ती डुबानमा परेपछि सयौँ परिवार सरसामानसहित सडक तथा उच्च घरमा सरेका हुन्,” उनले भने, “कतिपय आफन्तकोमा बसिरहेका छन्।” बाढीका कारण विशेष गरी कैलालीको दक्षिण तथा पूर्वी क्षेत्र जलमग्न भएको छ। चुरेबाट बग्ने खोला र कर्णाली नदीमा पानीको सहत बढेपछि कैलालीको टीकापुर, भजनी, जानकी र जोशीपुरका तटीय क्षेत्रका बस्ती डुबानमा परेका हुन्। 

यस्तै, टीकापुर नगरपालिकामा केही परिवार विस्थापित भएका छन्। विपद् व्यवस्थापन शाखाका प्रमुख निर्मला चौधरीले पथरैया नदीमा आएको बाढीले वडा नम्बर ६ का पर्सेनी, भर्तापुर, भगवानपुरका ६५ घर डुबानमा परेकाले ती घरका मानिसलाई उद्धार गरी उच्च घरमा सारिएको जानकारी दिइन्। त्यस्तै, जोशीपुर गाउँपालिकामा पनि लगातारको वर्षापछि जलमग्न भएको छ। भित्तरीयामा काडा नदीको पानी पसेर डुबान भएकोे जोशीपुर गाउँपालिका विपद् व्यवस्थापन शाखा प्रमुख सीता सिंहले बताइन्।

जानकी गाउँपालिकाका अधिकांश वडा जलमग्न भएका छन् भने केही घरपरिवा विस्थापित भएका छन्। विपद् व्यवस्थापन शाखा प्रमुख नेत्रप्रसाद जैसीले वडा नं ४ र ७ का धेरै बस्ती डुबानमा परेका बताए। “वडा नं ४ को गिरधरपुरमा ११ परिवार बसेका छन्। वडा नं ७ को फरेलामा १५ परिवार बसेका छन्,” जैसीले भने।

आइतबार राति १२ बजे कर्णाली नदीमा बाढीको तह १०.५ पुगेको थियो। बिहान ६ बजेको मापनअनुसार कर्णालीमा जलसतह तह घट्दै गएको छ। कर्णालीमा बाढीको तह १० मिटर पुग्नुलाई चेतावनी, १०.८ पुग्नुलाई खतराको तह पार गरेको मानिन्छ।

लगातारको वर्षापछि आएको बाढीले कञ्चनपुर पनि डुबानमा परेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बाढीले अधिकांश भू–भागलाई प्रभावित बनाएको छ। महाकाली र जोगबुडा नदीमा आएको बाढी बस्तीमा पसेपछि  दोधारा चाँदनी नगरपालिका–१० को तीन बस्ती डुबानमा परेका छन्। जोगबुडा पारीको कुतियाकभर तथा वारीका शान्ति टोल र लिसानी टोल डुबानमा परेका छन्। 

त्यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर नगरपालिका र दक्षिणी क्षेत्रका अधिकांश बस्तीमा बाढी पसेकोे छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले  जिल्लाभर बाढीबाट प्रभावित १ हजार ६२२ जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको जानकारी दिए। “बाढीले जिल्लाका अधिकांश बस्ती डुबानमा परेका छन्,” उनले भने, “डुबानबाट प्रभावितलाई नजिकै विद्यालय र आफन्तकोमा सारिएको छ।” 

त्यसैगरी उनले बाढीमा परी कृष्णपुर नगरपालिकाको वडा–१ पोतीपुरमा सात महिनाका शिशु सोलु धानुकको मृत्यु भएको बताए। प्रवक्ता जोशीका अनुसार घरमा सुतेको अवस्थामा बाढी पसेपछि डुबेर शिशुको मृत्यु भएको हो। निरन्तर वर्षा भइरहेका कारण अझै केही परिवार विस्थापित हुने अवस्थामा पुगेका जनाइएको छ। 

सुदूरपश्चिममा बाढी तथा पहिरोका कारण हुनसक्ने सम्भावित विपद्को समयमा उद्धारका लागि प्रदेशका सबै प्रहरी युनिटलाई तयारी अवस्थामा राखिएको छ। प्रदेश प्रहरी कार्यालय धनगढीका वरिष्ठ प्रहरी उपरीक्षक डिल्लीराज विष्टका अनुसार जिल्ला प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय र प्रहरीचौकीमा कार्यरत ११०० प्रहरी तैनाथ गरिएको छ।

कैलाली र कञ्चनपुरमा डुबान र बाढीबाट आउने खतरालाई मध्यनजर गरेर कर्णाली र महाकाली नदीको पानीको सतहको प्रहरीले निगरानी गरिरहेको उनको भनाइ छ।