सोमबारदेखि केही दिन मनसुन क्रमशः निष्क्रिय हुँदै

मौसम पूर्वानुमान माहाशाखाका मौसमविद् सरोज पुडासैनीले सोमबारदेखि केही दिनसम्म अधिकांश स्थानमा वर्षा कम हुने जानकारी दिए।

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले सोमबारदेखि केही दिन मनसुन क्रमशः निष्क्रिय हुँदै जानुका साथै मुलुकको अधिकांश भू–भागमा वर्षा कम हुने पूर्वानुमान गरेको छ। विभागका अनुसार न्यूनचापीय रेखा क्रमिक रूपमा दक्षिणतर्फ सर्दै जाने भएकाले मुलुकमा मनसुनको सक्रियतामा कमी आई सोमबारदेखि वर्षा कम हुनेछ।

मौसम पूर्वानुमान माहाशाखाका मौसमविद् सरोज पुडासैनीले सोमबारदेखि केही दिनसम्म अधिकांश स्थानमा वर्षा कम हुने जानकारी दिए। “आइतबारसम्म न्यूनचापीय रेखा उत्तरतर्फ भएकाले भारी वर्षा भएको थियो, सोमबारदेखि उक्त रेखा दक्षिणतर्फ सर्दै जाने भएकाले मनसुन कम सक्रिय हुनेछ,” उनले भने।

सोमबारदेखि केही दिन कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा भारी वर्षाको सम्भावना भने रहेको मौसमविद् पुडासैनीले बताए। उनका अनुसार मधेश, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

वर्षाका कारण भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहनुका साथै खहरे खोलामा पानीको सतह बढ्नसक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउनु हुन सर्वसाधारण तथा सरोकार भएका सबैलाई विभागले अनुरोध गरेको छ।