पहिरोले अरनिको राजमार्ग अवरुद्ध

पाँचखाल नगरपालिका–८ स्थित राजमार्गमा सोमबार राति पहिरो खसेर करिब १५० मिटर सडक अवरुद्ध भएको छ।

काभ्रेपलान्चोक– वर्षाका कारण पहिरो जाँदा अरनिको राजमार्गअन्तर्गत काभ्रेको  पाँचखालस्थित ५० किलो भन्ने स्थानमा गए रातिदेखि सडक अवरुद्ध भएको छ। 

सडक माथिबाट लगातार पहिरो खसिरहेकाले पन्छाउन असहज भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।

पाँचखाल नगरपालिका–८ स्थित उक्त सडकमा पहिरो खसेर करिब १५० मिटर सडक अवरुद्ध भएको हो। सोमबार राति ९ बजेदेखि सडक अवरुद्ध हुँदा दुवैतर्फ सवारी रोकिएका छन्। साना सवारीलाई वैकल्पिक बाटोबाट पठाइएको प्रहरीले जनाएको छ।

प्रवक्ता श्रेष्ठका अनुसार पहिरो खस्न केही कम भएकाले मंगलबार बिहानदेखि मेसिनद्वारा पहिरो पन्छाउन थालिने छ।