विस्थापित भएकाहरू हुलाकी सडक, उच्च भवन, सामुदायिक भवन, विद्यालय तथा आफन्तका घरमा आश्रय लिइरहेका छन्।
टीकापुर र भजनीका बस्ती जलमग्न, नगरप्रमुख भन्छन्– डुबान क्षेत्रमा जानसक्ने अवस्था छैन
टीकापुर– लगातारको वर्षापछि आएको बाढीले कैलालीका भजनी नगरपालिकामा ३१३ र टीकापुर नगरपालिकामा १७४ परिवार विस्थापित भएका छन्। विस्थापित भएकाहरू हुलाकी सडक, उच्च भवन, सामुदायिक भवन, विद्यालय तथा आफन्तका घरमा आश्रय लिइरहेका छन्।
भजनी नगरपालिका बाढीले सबैभन्दा बढी प्रभावित भएको विपद् व्यवस्थापन शाखा प्रमुख विष्णु न्यौपानेले जानकारी दिए। “विस्थापितहरू खाद्यान्न आफ्नै घरबाट ल्याएर खाने गरेका छन्, पालिकाले यति धेरै नागरिकलाई व्यवस्थापन गर्न सक्ने अवस्था छैन,” उनले भने, ‘‘पालिकाले एक हजार ८०० बोतल पानी वितरण गरेको छ।”
बाढीले भजनीमा अधिकांश सडकमा क्षति पुगेको छ। भजनीमा खेतीयोग्य जमिन ७५ प्रतिशत डुबानमा परेको प्रमुख न्यौपानेले बताए। जलसतह नघटेकाले डुबानमा परेका घरमा के–कति क्षति भयो भन्ने विवरण आउन नसकेको नगरप्रमुख केवल चौधरीले जानकारी दिए। “भजनी तहसनहस भएको छ, मानिस विस्थापित भएको मात्र होइन,” उनले भने, “खेतीपाती, पशुपालन तथा अन्य व्यवसायमा समेत क्षति भएको छ। मानिसका घर डुबानमा परेपछि सरसामान सबै भिजेका छन्।”
नगरप्रमुख चौधरी पालिकाले यस्तो विपत्तिमा एक्लैले धान्न नसक्ने भएकाले संघीय सरकारले नै विपद्मा नागरिकका हितमा काम गर्नुपर्ने बताए। भजनीमा विस्थापितहरू हुलाकी सडकमा पाल टाँगेर बसिरहेका छन्। बर्खाको समयमा माथिबाट वर्षा भइरहेको, तल लामखुट्टे, कीरा फट्याङ्ग्राको जोखिम रहेकाले सडकमा बसेकाहरूको अवस्था नाजुक रहेको स्थानीय कृष्ण धमलाले बताए। “खाद्यान्न, लुगाकपडा, बस्तुभाउ पनि सडकमा छन्, बस्तुभाउ र मानिसको बसाइ सँगै खुला आकाशमा कस्तो होला?,” उनले भने, “मानिस विस्थापित भएर पनि बस्ने ठाउँ छैन, अझ आफैँ खानाको जोहो गर्न कठिन भएको छ। त्यसैमाथि सडक सहारा भएको छ।”
टीकापुर नगरपालिका–६ को बस्तीमा मोहना नदीको बाढी पसेपछि डुबानमा परेको हो। त्यहाँ विद्यालय र बस्तीमा पानी पसेको छ। टीकापुरमा भगवानपुरका २०, प्रेनीका ५०, नारायणपुरका नौ, मिलनपुरका ३५, भर्तापुरका ४५, सुन्दरपुरका १२ र बाघमाराका तीन परिवार विस्थापित भएका विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले जानकारी दिए। “मोहनाको पानी बस्तीमा पसेपछि वडा नं ६ मा ठूलो क्षति भएको छ, हामीले प्रहरीको सहायतामा ट्युबमा सरसामान र मानिसलाई उद्धार गर्यौं, पूर्वतयारीमा काम गरिरहेकाले समयमै उद्धार सम्भव भयो,” उनले भने, “अहिले पनि बस्ती जलमग्न छ। डुबान क्षेत्रमा जानसक्ने अवस्था छैन।”
टीकापुर– ५ मा रानी जमरा सिँचाइ आयोजनाले निर्माण गरेको ड्याम, दौलतपुरमा रहेको तटबन्ध, वडा नं ६ को भर्तापुरमा पुल नजिक बाँधेको ड्याम भत्कने जोखिम रहेकाले तत्काल मर्मत गर्ने, मर्मतका लागि सिँचाइ आयोजनाको सहयोग लिने विपद् व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ। वडा नं ४ मा सिँचाइ आयोजनाले बनाएको इन्टेक साँघुरो बनाएकाले कहिल्यै बाढी नपसेको बाघमारामा पनि डुबान भएको वडाध्यक्ष लालवीर चौधरीले बताए।
डुबान भएका बेला धेरै सडक काटेर पानी निकास गरेकाले बिग्रिएका सडक मर्मत तत्काल गर्ने नगरपालिकाले निर्णय गरेको छ। त्यस्तै जोशीपुर गाउँपालिकाका सबै वडामा पानी पसेको छ। सबै वडामा पानी पसे पनि वडा नं ३ का पाँच परिवारमात्र विस्थापित भएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
