देशभर बाढीमा ४१ पुल बगे, १० करोडभन्दा बढीको क्षति

जेठ २८ गतेदेखि हालसम्म देशका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परेर ७८ जनाको मृत्यु भएको छ। ९० जना घाइते र पाँचजना बेपत्ता भएका छन्।

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी पहिरोलगायत विपद्का घटनामा परेर हालसम्म ७८ जनाले ज्यान गुमाएका छन्। १० करोडभन्दा बढीको क्षति भएको छ। 

प्रहरी प्रधान कार्यालयका अनुसार जेठ २८ गतेदेखि हालसम्म देशका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परेर ७८ जनाको मृत्यु भएको हो। ९० जना घाइते र पाँचजना बेपत्ता भएका छन्।

बाढी पहिरोका कारण ३८१ पशु चौपाया मरेका, ९८ गोठमा क्षति भएको, ५९५ घर विस्थापित भएका छन्। विपद् व्यवस्थापनका निम्ति पाँच हजार ४१ प्रहरी परिचालन गरिएको छ।

बाढी पहिरोले एक विद्यालय र दुई सरकारी भवनमा क्षति पुगेको छ भने ४१ वटा पुल बगाएको छ। यस्तै, १६१ घर डुबानमा परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

अविरल वर्षाका कारण देशभर एक हजार २८ घटना भएका र त्यसबाट १० करोड १८ लाख ८५ हजार रुपैयाँ बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ।