डेढ शताब्दीअघि आदिवासीले भोग्नुपरेको दमनबारे नाटक ‘मेषी दण्ड’ मञ्चन हुने

नाटक ‘मेषी दण्ड’ साउन ५ देखि २७ सम्म मञ्चन हुने भएको छ।  सोलुखुम्बुको खालिङ राई समुदायले भोगेको कथालाई नाटकमा प्रस्तुत गरिएको छ। 

काठमाडौँ– करिब डेढ शताब्दीअघिको कथालाई लिएर निर्माण गरिएको नाटक ‘मेषी दण्ड’ साउन ५ देखि २७ सम्म मञ्चन हुने भएको छ। 

मण्डला थिएटरले हालै आधिकारिक रूपमा मञ्चनको घोषणा गरेको हो। २०२४/२५ मा १४ नाटक निर्माणको घोषणा गरेको मण्डलाले दोस्रो नाटकका रूपमा ‘मेषी दण्ड’ मञ्चन गर्न लागेको हो। यसका निर्देशक अनिल सुब्बा रहेका छन्। 

उनले गीलु रातोसको कथालाई छानेका छन्। हिमाली जिल्लाको आदिवासीले भाषाका कारण तत्कालीन राज्यबाट कसरी दमन भोग्नुपर्‍यो भन्ने कुरा नाटकमा देखाइने निर्देशक सुब्बाले बताए। सोलुखुम्बुको खालिङ राई समुदायले भोगेको कथालाई नाटकमा प्रस्तुत गरिएको छ। 

मण्डला थिएटर नेपालको प्रस्तुति रहेको नाटकमा प्रतिना राई, मणि के राई, अरुण पौडेल, जय ढकाल, प्रशंसा गुरुङ, सलिना भुजेल, पूर्णबहादुर गन्धर्व, शायोक मुकारुङ, रमिता राई, सौजन लिम्बु, संजीप योगी, अमर बुढाथोकी, रमिता राई, सञ्जय विश्वकर्मा, लहना राई, जंजीत थुलुङ राई, अजय लामा, प्रवीण मगरलगायतको अभिनय रहने छ।