रारा विमानस्थलमा सात दिनपछि हवाई उडान सञ्चालन

अबिरल वर्षाका कारण सात दिनदेखि अवरूद्ध हवाई उडान मंगलबारदेखि पुनः सञ्चालनमा आएको हो।

मुगुस्थित रारा विमानस्थलमा मंगलबारदेखि हवाई सेवा सञ्चालनमा।तस्वीरः नृपेन्द्रबहादुर मल्ल/रासस

मुगु– मुगुस्थित रारा विमानस्थलमा मंगलबारदेखि हवाई उडान सञ्चालन भएको छ। अबिरल वर्षाका कारण सात दिनदेखि अवरूद्ध हवाई उडान मंगलबारदेखि पुनः सञ्चालनमा आएको हो।

रारा नागरिक उड्यन कार्यालय ताल्चका प्रमुख कृष्ण रिजालका अनुसार मौसममा केही सुधार भएपछि मंगलबार समिट र तारा एअरले उडान गरेका हुन्। हवाई उडान नहुँदा यात्रुहरू मुगुमै बस्न बाध्य थिए।

कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लामा विगत सात दिनदेखिको अविरल वर्षाका कारण बाक्लो हुस्सु र कुहिरो लाग्दा हवाई उडान अवरुद्ध  हुँदै आएको थियो। 

“गाडीबाट जाऊँ भने बाटो बिग्रेको छ, जहाज आउँदैन। सात दिनदेखि सुर्खेत जान तयार भएको थिएँ बल्ल आज मौसममा सुधार आएपछि प्लेनमा यात्रा गर्न पाइयो खुशी लाग्यो,” छायानाथ रारा नगरपालिका गमगढीका नौलासिंह नेपालीले बताए।