जारी विश्वकपमा १ अंक जोडेको क्यामरूनले अघिल्लो चरणमा पुग्न ब्राजिललाई हराएर मात्र पुग्दैन। अर्काे खेलमा सर्बियाले स्वीट्जल्यान्डलाई पनि पाखा लगाउनुपर्ने छ।
काठमाडौँ– स्वीट्जरल्यान्डले क्यामरुनविरुद्ध जित निकाल्दै समूह चरणको शुरूआत गर्यो। खेलमा निरन्तर आक्रमण बुने पनि क्यामरुनले गोल गर्न सकेन।
क्यामरूनले ८ मध्ये ५ सटअन टार्गेट राख्यो भने ४९ प्रतिशत बल पोजिसन। तर, ब्रिल एम्बोलोले ४८औँ मिनेटमा आफ्नो जन्म देशविरुद्ध गोल गरेसँगै क्यामरुन पराजित भयो। उसका लागि विश्वकपमा यो लगातार आठौँ हार थियो। त्यसपछि पनि क्यामरूनले लय समात्ने प्रयास नगरेको होइन।
दोस्रो खेलमा शुरूआती अग्रतालाई जोगाउन सकेन र सर्बियासँग ३–३ गोलको बराबरी खेल्दै अंक बाँड्यो। सन् २०१० र २०१४ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको क्यामरूनलाई करिब ८ वर्षपछि समूह चरण पार गर्ने मौका छ। जारी विश्वकपमा १ अंक जोडेको क्यामरूनले अघिल्लो चरणमा पुग्न पाँच पटकको विश्वविजेता ब्राजिललाई पाखा लगाउनुपर्ने छ। त्यतिमात्रै होइन, उसले स्वीट्जल्यान्ड र सर्बियाको खेलको नतिजा पनि कुर्नुपर्ने छ।
३ अंक जोडेको स्वीट्जल्यान्ड अंक तालिकाको दोस्रो स्थानमा छ। पहिलो खेलमा क्यामरुनमाथि संघर्षपूर्ण जित निकालेको स्वीट्जल्यान्ड दोस्रो खेलमा ब्राजिलसँग १–० ले पराजित भएको थियो। यता, अंक तालिकाको पुछारमा रहेको सर्बिया भने ब्राजिलसँगै २-० ले पराजित भयो। ३२ वर्षपछि अन्तिम १६ मा पुग्ने कोसिस गरिरहेको क्यामरूनले ब्राजिलमाथि २ गोलको जित निकाले र स्वीट्जल्यान्ड सर्बियासँग १-० ले पराजित भए पुग्ने छ।
“ब्राजिलले के गर्दैछ भन्नेमा मलाई कुनै मतलब छैन, यो हाम्रो निर्णायक खेल हो। हामीले फाइनल खेलको जस्तो तयारी गरिरहेका छौँ”, क्यामरूनका मुख्यप्रशिक्षक रिगोबर्ट सङले पत्रकार सम्मेलनमा भनेका छन्। ब्राजिल र क्यामरूनबीच अन्तिम पटक सन् २०१४ को विश्वकपमा भेट भएको थियो।
समूह चरणमा भएको उक्त भेटमा ब्राजिलले क्यामरूनमाथि ४–१ को फराकिलो जित निकालेको थियो। शुक्रबार करिब ८ वर्षपछि त्यही क्यामरूनविरुद्ध मैदान उत्रिँदा ब्राजिलको टोलीमा धेरै परिवर्तन हुनेछ। एक खेल अगावै ६ अंक जोडेर अन्तिम १६ मा पुगिसकेको ब्राजिलले खेलमा पाउनसक्ने कार्ड र फिटनेसलाई ध्यानमा राख्दै क्यामरूनविरुद्ध दोस्रो रोजाइएको खेलाडी उतार्ने छ।
मुख्यप्रशिक्षक टिटेले मुख्य गोलरक्षक एलिसन बेकरलाई बेञ्चमा राख्दै एडरसन मोराएसलाई मौका दिने छन्। ब्रेमार, एलेक्स टेलेस, एडर मिलिसाओ र ड्यानी अल्भेसलाई ब्याक फोरमा उतार्ने छन्। मुख्य फरवार्ड नेयमार चोटका कारण उपचारमा रहेका बेला ग्राबियल मार्टिनेली, रोड्रिगो र ग्राबियस जेससले अग्रपंति सम्हाल्ने छन्। ड्यानी शुक्रबार क्यामरूनविरुद्ध मैदान उत्रिँदा ब्राजिलका सबैभन्दा पाका कप्तान बन्ने छन्।
३९ वर्षीय फुलब्याक तेस्रो पटक ब्राजिलको राष्ट्रिय टोलीबाट विश्वकप खेल्दै छन्। “राष्ट्रिय टोलीसँगको यात्रा १६ वर्ष भइसक्यो। योबीचमा मैले आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने प्रयास गरेको छु। १६ वर्ष अगाडि रोपेको अन्न काढ्ने बेला आएको छ र कप्तानी भूमिका पाउँदा खुशी छु”, सन् २००६ मा अन्तर्राष्ट्रिय डेब्यू गरेका अल्भेसले भने। क्यामरूनविरुद्धको खेलमा दोस्रो रोजाइका खेलाडी उतार्ने भएपनि ब्राजिलको टोली तुलानात्मक रूपमा बलियो भएको उनको दाबी छ।
“हामीसँग २६ उत्कृष्ट खेलाडी छन् र केही परिवर्तन गर्नेछौँ। दुई खेलमा हामीले १९ खेलाडी प्रयोग गरिसकेका छौँ”, उनले भने, “क्यामरूनविरुद्धको खेलमा उत्रिने पनि मुख्य खेलाडी नै हुन्।” पछिल्लोपटक सन् २००६ को विश्वकपमा शतप्रतिशत जितसहित अन्तिम १६ मा पुगेको ब्राजिलले त्यो इतिहासलाई दोहर्याउन सकेको छैन।
अफ्रिका विश्वकपमा पोर्चुगलसँग गोलरहित बराबरी खेलेको ब्राजिलले घरेलु मैदानमा मेक्सिकोसँग उस्तै नतिजा निकालेको थियो। यस्तै, चार वर्ष अगाडिको विश्वकपमा भने ब्राजिलले समूह चरणको खेलमा स्वीट्जल्यान्डसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो। जारी विश्वकपमा भने आफ्नो टोलीको ध्यान शतप्रतिशत जित रहेको मिडफिल्डर फाबिन्हो बताउँछन्।
“प्रतिद्वन्द्वी जोसुकै भए पनि हाम्रो फोकस सधैँ खेल जित्ने नै हो। हामी उत्कृष्ट खेल्दै ९ अंक जोड्ने प्रयासमा छौँ”, उनी भन्छन्, “क्यामरूनविरुद्धको खेलमा दाबाबमा हुने छौँ भन्ने मलाई लाग्दैन। हामी सहजै जित निकाल्ने छौँ।” ब्राजिल र क्यामरूनबीच अहिलेसम्म ६ भेट भएको छ। उक्त भेटमा ५ पटक ब्राजिलले जित निकालेको छ भने क्यामरूनले एक पटक।
सन् १९९४ को विश्वकपमा ३–० ले पराजित भएको क्यामरून त्यसको दुई वर्षपछि आयोजना भएको मैत्रीपूर्ण खेलमा २–० ले पराजित भएको थियो। सन् २००१ मा कन्फेडरेसन कपमा भएको भेटमा पनि क्यामरून २–० ले नै स्तब्ध भएको थियो। तर, त्यसको दुई वर्षपछि सोही प्रतियोगितामा भने क्यामरूनले १–० को जित निकाल्यो।
यस्तै, २०१४ को विश्वकपमा घरेलु टोली ब्राजिलसँग ४–१ ले पराजित भएको क्यामरूनले त्यसको चार वर्षपछि आयोजना भएको मैत्रीपूर्ण खेलमा पनि १–० को हार बेहोरेको थियो। “ब्राजिलको टोलीलाई हृदयबाट नै चिन्छौं। तर, उनीहरूले खेलमा कस्तो नतिजा ल्याउँछन् भनेमा हामीलाई चिन्ता छैन। हाम्रो चिन्ता हाम्रै नतिजाको हो”, क्यामरूका मुख्य प्रशिक्षक रिगोबर्ट भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
