भुटानी राजबन्दी राईलाई अमेरिकाबाट १ लाख रुपैयाँ सहयोग

शिविरमा छोरीज्वाईंका साथमा बस्न थालेका ६६ वर्षीय राईलाई अमेरिकाको ओहायोस्थित शरणार्थी शुभेच्छुकहरूले पठाएको सहयोग बुधबार बिहान हस्तान्तरण गरिएको छ।

काठमाडौँ– भुटानको चेम्गाङ जेलमा झन्डै ३२ वर्ष थुना परेर यसै साता झापास्थित बेलडाँगी शिविर फर्किएका रामबहादुर राईलाई अमेरिकामा पुनर्वासमा गएका भुटानी शरणार्थी समुदायले १ लाख रुपैयाँ सहयोग पठाएका छन्। 

सन् १९९४ सम्म बेलडाँगीस्थित शिविरमै रहेका राई राजनीतिक पर्चा बोकेर भुटानको गेलेफु पुगेका बेला पक्राउ परेका थिए। त्यसपछि लगातार ३१ वर्ष १० महिना चेम्गाङ जेलमा थुनामा परेर गत शुक्रबार मात्रै उनी बेलडाँगी शरणार्थी शिविर आएका हुन्। 

उनका दुई छोरा पुनर्वासमा विदेश गइसकेका छन्। श्रीमतीको निधन भइसकेको छ। शिविरमा छोरीज्वाईंका साथमा बस्न थालेका ६६ वर्षीय राईलाई अमेरिकाको ओहायोस्थित शुभेच्छुकहरूले पठाएको आर्थिक सहयोग बुधबार बिहान हस्तान्तरण गरिएको हो।

शरणार्थी शुभेच्छुकले पठाएको रकम शनिश्चरेबासी खगेन्द्र सुवेदीले राईलाई हस्तान्तरण गरेका थिए। सो अवसरमा शिविरका सचिव सन्चहाङ सुब्बा, पूर्वसचिव कृष्णबहादुर सुब्बा, भुटानको जेलमा बसेर फर्किएका अर्का राजबन्दी डीबी राईसहितको उपस्थिति थियो।

यसअघि, चेम्गाङमा ३० वर्ष थुनिएर शिविर फर्किएका अर्का राजबन्दी मधुकर मगरलाई पनि राजबन्दी रिहाको अन्तर्राष्ट्रिय अभियान (नेदरल्यान्ड)का तर्फबाट २ लाख १२ हजार रुपैयाँ सहयोग गरिएको थियो। भुटानको चेम्गाङस्थित कारागारमा दुई दशकभन्दा लामो समयदेखि थुना पर्ने २५ राजबन्दीको फर्किने क्रममा छन्।