भोजपुरमा भासियो मध्यपहाडी लोकमार्ग, यातायात ठप्प

भोजपुर–चखेवा सडक खण्डको मेस्पाङमा बुधबार बिहान करिब ६० मिटर सडक भासिएको हो।

भोजपुर– अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत टेम्केमैयुङ गाउँपालिका– ३ मेस्पाङामा सडक भासिएको छ।

भोजपुर–चखेवा सडक खण्डको मेस्पाङमा करिब ६० मिटर सडक भासिएको हो। उक्त स्थानमा बुधबार बिहान सडक  भासिएको टेम्केमैयुङ गाउँपालिकाकी उपाध्यक्ष रमादेवी राईले बताइन्।

कालोपत्र गरिएको सडक भासिएपछि यातायातका साधन अलपत्र परेको उनको भनाइ छ। भोजपुर हुँदै विभिन्न गाउँ र खोटाङ तथा धनकुटातर्फ जाने क्रममा रहेका सवारी रोकिएका हुन्।

“वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत मेस्पाङमा सडक भासिएको छ”, उपाध्यक्ष राईले भनिन्,“सडकमा ठूलो क्षति भएको छ। यसरी नै निरन्तर वर्षा भयो भने अझ बढी क्षति हुनसक्छ।”