भारतमा बस र ट्यांकर ठोक्किँदा १८ जनाको मृत्यु

भारतमा हरेक वर्ष करिब पाँच लाख सवारी दुर्घटनामा एक लाख ५० हजार  मानिसको मृत्यु हुने गरेको छ। 

भारतको उत्तर प्रदेशमा बुधबार यात्रुवाहक बस दूध बोक्ने ट्यांकरमा ठोक्किँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ। अन्य १९ जना घाइते भएको प्रहरीले जनाएको छ।

उत्तर प्रदेशको राजधानी लखनऊबाट करिब ६८ किलोमिटर पश्चिममा उन्नाओ जिल्लाको गाढा गाउँमा दुर्घटना भएको हो। प्रहरीका अनुसार बिहारको सीतामढीबाट दिल्ली जाँदै गरेको डबल डेकर बस ट्यांकरसँग ठोक्किएको थियो। बुधबार उन्नाओ जिल्ला मजिस्ट्रेट गौराङ राठीका अनुसार प्रारम्भिक अनुसन्धानले बस अत्यधिक गतिमा रहेको औँल्याएको छ।

घाइतेहरूको नजिकको स्वास्थ्य केन्द्रमा उपचारपछि जिल्ला अस्पतालमा रेफर गरिएको छ। क्षतिग्रस्त बस र ट्यांकरलाई क्रेन प्रयोग गरेर सडकबाट निकालिएको छ।

भारतमा हरेक वर्ष करिब पाँच लाख सवारी दुर्घटनामा एक लाख ५० हजार  मानिसको मृत्यु हुने गरेको छ।