दूध उत्पादन गर्ने किसानले पाए १६ लाख रुपैयाँ अनुदान

दूधमा आत्मनिर्भर गराउन महत्त्वपूर्ण भूमिका खेलेका दुग्ध उत्पादन सहकारीमा आबद्ध किसानलाई प्रोत्साहनस्वरूप अनुदान दिइएको हो।

बागलुङ– बागलुङका दुग्ध उत्पादक किसानले यस वर्ष दूधमा पाइने अनुदानमार्फत १६ लाख ४२ हजार रुपैयाँ प्राप्त गरेका छन्। जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रले लिएको योजनामध्ये दूधमा अनुदान पाएका हुन्।

केन्द्रले घाँस र मासुमा दिइने अनुदान आगामी आर्थिक वर्षदेखि कटौती गरेको जनाएको छ। घाँस र मासुमा दिने अनुदान प्रभावकारी नभएको देखिएपछि बन्द गर्न लागिएको केन्द्रका प्रमुख डा ऋषिराम सापकोटाले बताए। दूधमा भने प्रतिलिटर २.५ रुपैयाँ अनुदान दिँदै आएको उनले जानकारी दिए।

यस वर्ष सात वटा दुग्ध उत्पादक सहकारीमा आबद्ध किसानले सोझै उक्त रकम पाएका छन्। दूधमा आत्मनिर्भर गराउन महत्त्वपूर्ण भूमिका खेलेका दुग्ध उत्पादन सहकारीमा आबद्ध किसानलाई प्रोत्साहनस्वरूप अनुदान दिँदै आइएको केन्द्रले जनाएको छ। 

चालु आर्थिक वर्षमा केन्द्रले विनियोजन गरेको २४ लाखमध्ये १६ लाख ४२ हजार रुपैयाँ सोझै किसानले पाएका केन्द्रका प्रमुख सापकोटाले बताए। अनुदान पाउन एउटै संकलन केन्द्रले दैनिक २०० लिटर दूध संकलन र बजारीकरण गरेको हुनुपर्ने भएकाले व्यक्तिगत रूपमा दूध बिक्री गर्ने किसान मापदण्डमा नपरेका उनले बताए।

“संस्थागत रूपमा दूधको बजारीकरण गरेको तथ्यांकका आधारमा प्रतिलिटर २.५ रुपैयाँका दरले अनुदान दिएका छौँ,” सापकोटाले भने, “सात वटा सहकारीमार्फत दूधको संकलन र बजारीकरण गर्ने सहकारीमा आबद्ध किसानले मात्रै उक्त रकम प्राप्त गरेका छन्। सहकारीको खातामा राखिएको रकम सहकारीले संकलन गरेको दूधको आधारमा पुनः किसानलाई भुक्तानी गर्दछ।”

केन्द्रले बलेवाको कालीगण्डकी, जैमिनी, कालीमाटी, नमूना, मिलिजुली, पाला र बागलुङ पशु स्रोत दुग्ध उत्पादक सहकारी संस्थालाई दूधमा अनुदान दिएको हो।

सात वटै सहकारीले एक वर्षमा छ लाख ५६ हजार लिटर दूध संकलन, प्रशोधन तथा बजारीकरण गरेका छन्। दूधमा अनुदान पाउँदा किसान दूध उत्पादनमा अग्रसर भएका स्थानीय रुद्रनाथ शर्माले बताए।