पारिश्रमिक र बिदा बढाउन माग गर्दै सामसुङका कर्मचारी हडतालमा

उचित पारिश्रमिक र बिदा नीतिको माग गर्दै दक्षिण कोरियाको सामसुङ इलेक्ट्रोनिक्समा कार्यरत दशौँ हजार कर्मचारी हडतालमा उत्रेका छन्।

उचित पारिश्रमिक र बिदा नीतिको माग गर्दै दक्षिण कोरियाको सामसुङ इलेक्ट्रोनिक्समा कार्यरत दशौँ हजार कर्मचारी हडतालमा उत्रेका छन्। कामदारको प्रतिनिधित्व गर्ने एक युनियनले व्यवस्थापनलाई वार्तामा ल्याउन बाध्य पार्न आफ्नो हडताललाई अनिश्चितकालका लागि लम्ब्याउने बुधबार घोषणा गरेको छ।

युनियनले यसअघि तीन दिने हडतालको घोषणा गरेको थियो।  यो हडताल सामसुङ कम्पनीको इतिहासमा सबैभन्दा ठूलो श्रम अवरोधको काम हो। चिप्स बनाउने विश्वकै केही प्रमुख कम्पनीमध्ये सामसुङ पनि एक हो र हडतालले विश्व बजारमा सामसुङको तर्फबाट आपूर्ति हुने चिप्सको व्यवस्थापनमा दबाब बढाउँछ। कम्पनीले गत हप्ता ठूलो दोस्रो त्रैमासिक सञ्चालन मुनाफा वृद्धिको भविष्यवाणी गरेको थियो।

नेसनल सामसङ इलेक्ट्रोनिक्स युनियनले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “व्यवस्थापन कुरा गर्न इच्छुक नभएपछि हामी जुलाई १० देखि दोस्रो अनिश्चितकालीन आमहडतालको घोषणा गर्छौं।"

तलब र सुविधाका लागि लामो समयदेखि चलेको संघर्षको एक हिस्साका रूपमा तीन दिने हडतालका लागि सोमबार पाँच हजारभन्दा बढी सदस्यले हडतालमा सहभागी भई काम गर्न छोडेका थिए। युनियनको यो हडताल जुनमा एक दिनको ‘वाकआउट’पछि आएको हो। दशकौँसम्म संगठनबिना चलेको कम्पनीमा पहिलो पटक सामूहिक विरोधसहित काममा अवरोध पारिएको छ। 

आन्दोलनरत युनियनमा ३० हजार भन्दा बढी सदस्यहरू छन् जुन कम्पनीको कुल कार्यबलको पाँच भागको एक भागभन्दा बढी हो। सामसुङले बुधबार एएफपीलाई दिएको जानकारीअनुसार हडतालले उत्पादनमा कुनै असर पार्ने छैन।

“सामसुङ इलेक्ट्रोनिक्सले उत्पादन लाइनमा कुनै अवरोध नआओस् भन्ने सुनिश्चित गर्नेछ,” कम्पनीका प्रवक्ताले एएफपीसँग भनेका छन्, “कम्पनी युनियनसँग अर्थपूर्ण वार्तामा संलग्न हुन प्रतिबद्ध छ।”

तर युनियनले उत्पादनमा स्पष्ट व्यवधान आएको दाबी गर्दै हडताल जति लामो समयसम्म जारी रह्यो, त्यति नै व्यवस्थापनलाई असर पर्ने बताएको छ।

“अन्ततः उनीहरू घुँडा टेकेर वार्ताको टेबलमा आउनेछन्। हामी जितमा पूर्ण आशावादी छौँ,” विज्ञप्तिमा भनिएको छ।

युनियनले सामसुङ व्यवस्थापनले हडतालमा अवरोध पुर्‍याएको आरोप लगाउँदै आफूहरू वार्तामा सहभागी हुन इच्छुक नदेखिएको बताएको छ।

युनियनले जनवरीदेखि नै व्यवस्थापनसँग वार्ता गरिरहे पनि दुवै पक्ष मतभेदलाई कम गर्न असफल भएका छन्। युनियनले यसअघि वार्षिक बिदामा सुधार र पारदर्शी कार्यसम्पादनमा आधारित बोनसलगायतका माग राख्दै ५.१ प्रतिशत तलब वृद्धिको प्रस्ताव अस्वीकार गरेको छ।

सामसुङ इलेक्ट्रोनिक्सले लगभग ५० वर्षसम्म आफ्ना कर्मचारीहरूलाई युनियन खोल्न दिएको थिएन। सन् १९८७ मा निधन भएका कम्पनीका संस्थापक ली बियुङ–चुलले युनियनको कडा विरोध गर्थे। उनी भन्ने गर्थे, “जबसम्म मेरो आँखामा कसिंगर पर्ने छैन तबसम्म म कहिल्यै पनि युनियन खोल्नलाई अनुमति दिन्नँ।”

सन् २०१९ मा सामसुङ इलेक्ट्रोनिक्सको पहिलो प्रभावकारी श्रमिक युनियन गठन भएको थियो। 

त्यसको केही समयपछि नै सामसुङ इलेक्ट्रोनिक्सका संस्थापकका नाति तथा वर्तमान अध्यक्ष ली जे–योङले सन् २०२० मा कम्पनीको युनियनविहीन सिद्धान्त अन्त्य भएको घोषणा गरेका थिए।

यो कम्पनी दक्षिण कोरियाली विशाल प्रबिधि कम्पनी सामसुङ समूहको प्रमुख सहायक कम्पनी हो, जुन एसियाको चौथो ठूलो अर्थव्यवस्थामा व्यवसायमा प्रभुत्व जमाउने परिवार–नियन्त्रित समूहहरूमध्ये सबैभन्दा ठूलो हो।