रुसी सेनामा भर्ती भएका भारतीय नागरिकलाई फिर्ता गर्न पुटिन सरकार सहमत

सयौँको संख्यामा नेपाली युवा पनि रुसी सेनामा भर्ती भएका छन्। ३० भन्दा धेरैको मृत्यु नै भइसकेको छ। तर पनि सरकारले उनीहरूलाई फिर्ता ल्याउन प्रभावकारी ढंगले संवाद अगाडि बढाउन सकेको छैन।

तस्वीर : एएफपी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा रुसले आफ्नो सेनामा लडिरहेका भारतीयहरूलाई फिर्ता पठाउने वाचा गरेको छ। भारतको विदेश मन्त्रालयले सो जानकारी दिएको हो। प्रधानमन्त्री नरेन्द्र मोदीको मस्को भ्रमणको अन्त्यमा यो घोषणा गरिएको हो।

प्रधानमन्त्री मोदी जुलाई ८ देखि ९ मा रूसको दुई दिने आधिकारिक भ्रमणमा रहेका थिए। आफ्नो भ्रमणको क्रममा उनले मंगलबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग द्विपक्षीय बैठक गर्दै त्यहाँको सेनामा संलग्न आफ्ना नागरिकलाई फिर्ता पठाउन आग्रह गरेका थिए। 

विदेश सचिव विनय क्वात्राले एक प्रेस ब्रिफिङमा भने, "मोदीले रुसी सेनामा भर्ती गरिएका भारतीयहरूलाई फिर्ता ल्याउने मुद्दालाई कडा रूपमा उठाएका छन्।"

सन् २०२२ मा रुस र युक्रेनबीच युद्ध शुरू भएपछि प्रधानमन्त्री मोदीको यो पहिलो रूस भ्रमण हो। भारतले युक्रेन र रूसबिचको द्वन्द्व समाधानका लागि सधैँ ‘शान्ति र कूटनीति’ को वकालत गरेको छ।

यसअघि पनि भारतको विदेश मन्त्रालयले भारतीयहरूलाई फिर्ता पठाउन रुससँग अपिल गरेको थियो। गैरलडाकु इकाइहरूमा काम गर्ने नाममा सेनामा भर्ती भए पनि पछि युक्रेनमा सक्रिय लडाइँमा पठाइएको उनीहरूका परिवारलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

युक्रेन युद्धमा हालसम्म कम्तीमा चार भारतीयको मृत्यु भइसकेको छ। भारतको विदेश मन्त्रालयका अनुसार रुसी सेनामा करिब ३५–४० जना भारतीय रहेका छन्। जसमध्ये १० जनालाई फिर्ता ल्याइएको छ। बाँकीलाई ल्याउन वार्ता भइरहेको छ।

सयौँको संख्यामा नेपाली युवा पनि रुसी सेनामा भर्ती भएका छन्। ३० भन्दा धेरै नेपालीको मृत्यु भइसकेको सरकारी आँकडा छ। तर पनि सरकारले आफ्ना नागरिकलाई फिर्ता पठाउन पुटिन सरकारसँग प्रभावकारी ढंगले संवाद अगाडि बढाउन सकिरहेको छैन।