जनमत पार्टीले गर्‍यो केन्द्रीय सचिवसहित ७ नेता–कार्यकर्तामाथि कारबाही

पार्टीको नीति–निर्देशन र विधान विपरीत ढंगले अनुशासनहीनता प्रदर्शन गरेकाले उनीहरूलाई ३ महिनाको लागि निलम्बन गरिएको हो।

काठमाडाैँ– जनमत पार्टीले राष्ट्रिय सचिव विश्वेश्वरप्रसाद साहसहित सात जना नेता–कार्यकर्तालाई तीन महिना निलम्बन गरेको छ। 

निलम्बन हुनेमा केन्द्रीय सदस्य रामेश्वर यादव, मिर्चैया नगरपालिका कमिटीका सचिव कृष्णचन्द्र साहलगायत छन्। सिराहाको मिर्चैया नगरपालिकाकै ६ जना रहेका छन्। जनमत पार्टी केन्द्रीय अनुशासन समितिको गत असार २० गते बसेको बैठकले आन्तरिक छानबिन समितिको प्रतिवेदनमाथि विचार गर्दै उनीहरूलाई कारबाही गरेको हो।

"जनमत पार्टीको नीति निर्देशन र पार्टीको विधान विपरीत ढंगले अनुशासनहीनता प्रदर्शन गरिएकाले पार्टीको कुनै पनि कामकाजमा सहभागी नहुने गरी आजकै मितिबाट ३ महिनाको लागि निलम्बन गरिएको व्यहोरा जानकारी गराइन्छ," पार्टीको विज्ञप्तिमा भनिएको छ।