बाजुरामा रोकिएको मतगणना शुरू गर्न दलहरूसँग छलफल

निर्वाचन अधिकृत ढाकाराम पौडेलले बाजुरामा मतगणना पुनः शुरू गर्नका लागि दलहरूसँग छलफल भइरहेको बताएका छन्।

काठमाडौँ– बाजरामा रोकिएको मतगणना शुरू गर्नेबारे दलहरूसँग छलफल भइहरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मुचुल्कामा उल्लेख भएभन्दा बढी मत भेटिएको भन्दै विवाद भएपछि मतगणना रोकिएको थियो।

मुचुल्कामा उल्लेख भएभन्दा बढी मत आएको भन्दै नेकपा एमाले बाजुराले मतगणना स्थगित गर्न माग गरेपछि रोकिएको मतगणना अझै शुरू हुन सकेको छैन।

मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले मतगणना शुरू गर्नका लागि दलहरूसँग छलफल भइरहेको बताए। उनले भने, "पहिलो चरणमा हामी दलहरूसँग छलफल गर्ने छौँ, सहमति नभए कानुनअनुसार मतगणना अघि बढाउँछौँ।"

हिमाली गाउँपालिका ६ धिममा मुचुल्काभन्दा ३० मत बढी आएको उनको भनाइ छ। "कर्मचारीले खसेको मतको मुचुल्काभन्दा ३० मत बढी खसेको पाइएको हो। बाहिर हल्ला गरेजस्तो ४० मत होइन," उनले भने।

बूढीगंगा ३ मा भने मुचुल्काभन्दा ९८ मत बढी आएको नभई कम्प्युटरमा इन्ट्रीका क्रममा गल्ती भएको उनको भनाइ छ। मतदान केन्द्रबाट मुचुल्कामा सही आएको तर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कम्प्युटरमा इन्ट्री गर्दा गल्ती भएको पौडेलले बताए।

"मुचुल्कामा ३५० रहेको थियो, तर यहाँ कर्मचारीले कम्प्युटरमा इन्ट्री गर्दा २५० भएको बनाए छन्। यसमा कम्प्युटरमा इन्ट्री गर्दा गल्ती भएको हो," उनले भने।