मान्छे देख्दा डरले भाग्ने आफूहरू अहिले बस्तीमा बस्ने र खेतीपाती गर्ने भएको सम्झिँदा सन्तमाया वनकरिया छक्क पर्छिन्।
हेटौँडा– मकवानपुरको मनहरि गाउँपालिका–४ मुसेधापकी सन्तमाया वनकरिया बिहान उठेर भैँसी दुहुने र घाँस कुँडो गरिसकेपछि बाख्रा चराउन लैजान्छिन्। १८ वर्ष अघिसम्म वनकेराको पातले छाएको झुपडीभित्र कन्दमूल खाएर जीवन निर्वाह गरेको ती दिन उनले बिर्सिएकी छैनन्। तर, उनी अहिलेको जीवनमा रमाइरहेकी छन्।
खेती गर्ने र अन्न भित्र्याएर भात खाने सपनासमेत नदेखेका उक्त समुदाय अहिले रोपाइँको चटारोमा छन्। कहिले खनिउँ, निगुरो र माछा मारेर जीविका चलाएकी सन्तमायाले सुत्केरी हुँदा पनि कन्दमूलको भरमा बाँच्नुपरेको स्मरण गरिन्। विगत सम्झँदै उनी भन्छिन्, “हामीले चामलको भात खान पाएको १८ वर्षमात्र भयो, त्योभन्दा अगाडि त वनमा जे भेट्यो त्यही खायो, खेतबारी नि थिएन किसानी गर्न जानिएको पनि थिएन।”
मान्छे देख्दा डरले भाग्ने आफूहरू अहिले बस्तीमा बस्ने र खेतीपाती गर्ने भएको सम्झिँदा उनी आफै छक्क पर्छिन्। “योभन्दा स्वर्ग अरु हुन्न,” उनले भनिन्। हाल बिताइरहेको जीवनशैलीबाट आफूहरू सन्तुष्ट रहेको उनको भनाइ छ।
वनकरिया समुदायको मुखियासमेत रहेकी उनलाई आफ्नो जवानीको दिनहरू जंगलमा जंगली मान्छेजस्तो भएर बिताउन बाध्य भएको सम्झना आउने गर्छ। सरकारले आफूहरूलाई खोजेर बस्तीमा राख्दासम्म सामाजिक जीवनको बारेमा जानकारी नभएको बताउने सन्तमाया अहिले सुखदुःखका कथा अरुलाई सुनाएर जीवन बाँच्न प्रेरणा दिने गर्छिन्। तर, उनलाई दुःख लाग्ने कुरा हालसम्म आफू बसेको जग्गाको स्वामित्व नपाउनु रहेको छ। अठार वर्षदेखि खनीखोस्री गरेको जमिनमा पसिनासँगै जीवन जोडिएको उनी बताउँछिन्।
समुदायमा आउनुअघि जंगली कन्दमूलको सहारामा जीवन बिताउने वनकरिया समुदाय पछिल्ला वर्षहरूमा क्रमशः परिवर्तन हुँदै गएका छन्। आधुनिक जीवनोपयोगी सीपसँग टाढा रहेका वनकरिया समुदाय हाल कृषि र उद्यममा आत्मनिर्भर बन्ने प्रयासमा छन्। वनकरिया समुदायको गोठमा भैँसी, बाख्रा, कुखुरालगायतको पशुपन्छी छन् भने उनीहरूले दूध, दही, घ्यू, कुखुरा र खसी बेच्नुको साथै प्राचीनकालदेखि गर्दै आएको माछा मार्ने कामलाई निरन्तरता दिइरहेका छन्।
सोही बस्तीकी सुन्तली वनकरियाले खेतीपातीबाट छ महिनाभन्दा बढी खान पुग्ने र बाँकी समय सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ताले सहज बनाएको बताउँछिन्। उनका अनुसार यीबाहेक समुदायको महिला मिलेर साबुन बनाउने काम थालेका छन्। त्यसले पनि आम्दानी हुन थालेको उनले बताइन्। सरकारले प्रतिव्यक्ति मासिक चार हजार सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ। वनमा बस्दा खेतीपातीमा मजदुरीको काम पाउनसमेत गाह्रो हुने गरेकामा अहिले खेती गर्न पाउँदा खुसी लागेको उनले बताइन्।
वनकरिया समुदायबाट पाँच किशोरी र एक किशोरले एसईई परीक्षा उत्तीर्ण गरिसकेका छन्। दुई जना किशोरी प्राविधिक क्षेत्रमा लागेका छन्। वनकरिया समुदायबाट पहिलोपटक एसएलसी परीक्षा विसं २०७२मा उत्तीर्ण गरेकी पम्फा वनकरिया ‘ल्याब असिस्टेन्ट टेक्निसियन’ विषय अध्ययन गरी हाल मनहरीको रजैयामा ल्याब असिस्टेन्ट पदमा काम गरिरहेकी मुखिया सन्तमायाले बताइन्।
त्यसैगरी दुई जनाले हाल हेटौँडामा रहेर पत्रकारिता अध्ययन गरिरहेका छन्। मातृसत्तात्मक समाज रहेको यो समुदाय हाल परिवर्तनउन्मुख देखिएको छ। ‘वनकरिया’ नेपालको सबैभन्दा थोरै जनसंख्या भएको आदिवासी जनजातिमध्येको एक जाति हो। उनीहरूको संख्या दैलेखमा फिरन्ते जीवन गुजारिरहेका राउटेको भन्दा कम छ। मकवानपुरको मनहरि गाउँपालिका–४ मसिने नजिक मुसेधापमा बसोबास गर्ने यो समुदाय लोपोन्मुख जाति हो। हाल यहाँ २२ घरधुरीमा ९२ जना वनकरिया बसोबास गर्छन्।
लोपोन्मुख जाति वनकरियाको बसोबास रहेको यो मुलुककै एकमात्र गाउँपालिका र एकमात्र वडा हो। यहाँका वनकरियाले आफ्नो राष्ट्रिय परिचयपत्र बनाउनुका साथै दुई पटकसम्म चुनावमा भोट हाल्नसमेत पाएका छन्। तर, २० वर्षको सम्झौता गरेर सरकारले बस्तीमा राखेका उनीहरू बसेको १८ वर्ष बित्दासमेत् स्थायीरूपमा बसोबास गर्ने जग्गाको स्वामित्व नपाएकामा उनीहरूको गुनासो छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
