कैलालीमा १ हजारभन्दा बढीमा डेंगीको संक्रमण, सतर्कता अपनाउन आग्रह

कैलालीमा गत वर्ष डेंगीबाट तीन जनाको मृत्यु भएको थियो। कैलाली डेंगीको उच्च जोखिममा रहेका १० जिल्लामा नवौँ स्थानमा पर्छ।

टीकापुर– गत वर्षका तुलनामा यस वर्ष कैलालीमा डेंगीका बिरामी बढेका छन्। यस वर्ष एक हजार एक जना डेंगी संक्रमित भएका  छन्। 

गत वर्ष ४५५ जना डेंगीबाट संक्रमित भएका थिए। टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले दिएको जानकारीअनुसार गत वर्ष धनगढीमा १७३, लम्कीचुहामा ११३, बर्दगोरियामा ७२, टीकापुरमा ४०, जानकीका चार, भजनीका पाँच र जोशीपुरमा ६ जनामा डेंगी संक्रमण देखिएको थियो। 

गत वर्ष डेंगीबाट कैलालीमा तीन जनाको मृत्यु भएको थियो। कैलाली डेंगीको उच्च जोखिममा रहेका १० जिल्लामा नवौँ स्थानमा पर्छ। डेंगीसँगै कैलाली स्क्रफ टाइफसको पनि जोखिममा छ। यस वर्ष जिल्लामा स्क्रफटाइफस ७३७ जनामा देखिएको छ। गत वर्ष ५२९ जना बिरामी उपचारमा आएका थिए। टीकापुरमा स्क्रफटाइफसका गत वर्ष ७३, लम्कीचुहामा तीन सय एक जना बिरामी थिए। 

स्थानीय पालिकाले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लामखुट्टका लार्भा नष्ट अभियान, सरसफाइ अभियान, जनचेतनामूलक कार्यक्रम, प्रचारप्रसार जस्ता कार्य गर्दै आएका छन्। टीकापुर अस्पतालका जनरल मेडिसिन  दिलीपकुमार शाहले रोग लाग्नबाट बच्नु नै उत्तम उपाय भएको बताउँदै डेंगी मानिसलाई पटक–पटक भएमा जोखिम हुने बताए। “डेंगी पटकपटक हुनु जोखिम हुन्छ, डेंगी भएर जटिल अवस्था आएमा ज्यानसमेत जानसक्ने भएकाले नागरिक सचेत हुनुपर्छ,” उनले भने, “बर्षातका समयमा लामखुट्टेको टोकाइबाट बचेमा धेरै रोगबाट बच्न सकिन्छ।” 

डा. शाहले डेंगी तीन अवस्थाको हुने जनाउँदै ज्वरो अवस्था खासै जोखिम नहुने, संवेदनशील अवस्थामा खतरा हुने भएकाले समयमै उपचारमा जानुपर्ने बताए। टीकापुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट तथा वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. रेमकुमार राईले अस्पतालमा २४ जना चिकित्सक रहेका, विपद्मा आवश्यक औषधि, उपचार र सक्रियताबारे छलफल गरेर योजना निर्माण गरिएको बताए। वर्षातमा डेंगी, टाइफसजस्ता बिरामी बढी आउने भएकाले यस्तो बेला सचेतना, पूर्वतयारी सबैतिर आवश्यक हुने उनले बताए। “त्यसै पनि हामीकहाँ बिरामीको चाप छ, विपद् जोखिम रहेको यो क्षेत्रमा बर्सातमा अझ बिरामी बढ्ने भएकाले हामीले तयारी गरेका छौँ,” उनले भने, “यो समयमा चिकित्सक बिदामा नबस्ने, औषधि, उपकरणको जोहोजस्ता तयारी गरेका छौँ।”

टीकापुर अस्पतालका अध्यक्ष झपट सोडारीले अस्पतालको फोहोर व्यवस्थापनमा पालिकालाई सघाउन आग्रह गरे। “फोहोरकै कारण धेरै रोग लाग्छन्, सरुवा रोगबाट बच्न सरसफाइमा ध्यान दिनुपर्छ,” उनले भने, “हामीसँग दुईवटा फोहोर प्रशोधन गर्ने अटोक्लेभ मेसिन छन्। नगरपालिकाले नगरभित्र संकलन भएको प्लास्टिकजन्य फोहोर हामीकहाँ प्रशोधन गर्न सक्छ।”

अध्यक्ष सोडारीले आफूहरू टीकापुरसहित अन्य पालिकाको फोहोरसमेत प्रशोधन गर्नसक्ने भएकाले सहकार्य गर्न तयार रहेको बताए। “मिलेर फोहोर व्यवस्थापन गरेमा प्लास्टिकको पुनः प्रयोग गरेर आम्दानी गर्न सकिन्छ,” उनले भने, “हामीले प्रशोधन गरेको फोहोर बिक्री गर्ने गरेका छौँ।”