बागलुङमा पहिरोले घर पुरिँदा १ जनाको मृत्यु

बागलुङ नगरपालिका–७ तितौरेमा बुधबार राति पहिरोमा पुरिएर ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको छ।

ढोरपाटन– पहिरोले घर पुरिँदा बागलुङमा एक जनाको मृत्यु भएको छ। बागलुङ नगरपालिका–७ तितौरेमा बुधबार राति पहिरोमा पुरिएर ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको हो।

घरमा एक्लै बस्दै आएकी उनलाई राति खसेको पहिरोले पुरेको वडाध्यक्ष मेघनाथ गैरेले जानकारी दिए। बिहीबार बिहान छिमेकीले थाहा पाएपछि प्रहरी र जनप्रतिनिधिलाई खबर गरेका थिए।  

यसैबीच, भारी वर्षाको कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। काठेखोला गाउँपालिका–६ बयलडाँडामा पहिरो खस्दा लोकमार्ग अवरुद्ध भएको हो।