भरतपुर अस्पतालमा एचआईभी संक्रमित आमाबाट स्वस्थ बच्चाको जन्म

नियमित औषधि सेवन गरिरहेका महिलाले सुरक्षित प्रसूति सेवा लिने र दूध खुवाउँदा विशेष ध्यान दिनसकेमा संक्रमण नुहुने चिकित्सकको भनाइ छ।

चितवन– भरतपुर अस्पतालमा विगत १० महिनामा ६ जना एचआईभी संक्रमित आमाले स्वस्थ बच्चालाई जन्म दिएका छन्। नियमित औषधि सेवन गर्ने र सुरक्षित प्रसूति सेवा लिने एचआईभी संक्रमित गर्भवतीबाट स्वस्थ बच्चा जन्मिएको अस्पतालले बताएको छ।

नियमित औषधि सेवन गरिरहेका महिलाले सुरक्षित प्रसूति सेवा लिने र दूध खुवाउँदा विशेष ध्यान दिनसकेमा संक्रमण नुहुने चिकित्सकको भनाइ छ।

भरतपुर अस्पतालका प्रसूति विभाग प्रमुख डा. सुनिलमणि पोखरेलले शल्यक्रियामार्फत जन्माइएका बच्चामा रोग सर्ने सम्भावना निकै कम हुने बताए।

औषधि खाइरहेका आमाबाट बच्चामा रोग सर्ने सम्भावना अन्यको तुलनामा ९० प्रतिशत कम हुने उनको दाबी छ। तर, लामो व्यथा लागेर जन्मिएका बच्चामा रोग सर्ने सम्भावना बढी हुने उनको अनुभव छ।

एड्स हेल्थ केयर फाउन्डेसन (एएचएफ) नेपालद्वारा भरतपुर अस्पतालमा सञ्चालित एन्टी रेक्ट्रो भाइरल थेरापी (एआटी) सेन्टरका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार सेन्टरमा पछिल्लो १० महिनामा १३ हजार ८८ गर्भवतीको एचआईभी परीक्षण गरिएको छ। जसमध्ये दुई जनामा संक्रमण देखिएको थियो।

सेन्टरमा चितवनसहित ११ जिल्लाका एचआईभी संक्रमित औषधि लिन आउने गरेका छन्। तनहुँ, गोरखा, लमजुङ, धादिङ, मकवानपुर, नवलपुर, नवलपरासी, बारा, पर्सा र धादिङका संक्रमितले चितवनबाट औषधिसहितको उपचार लिँदै आएका छन्। विशिष्ट खालको शल्यक्रिया, सुत्केरी र एमआरआईलगायतका उपचार सेवाका लागि यहाँ आउने गरेका छन्।

सापकोटाका अनुसार हाल एक हजार १०४ जना संक्रमितले औषधि सेवन गरिरहेका छन्। जसमध्ये ४५ जना बालबालिका छन्। औषधि खानेमा ४५ दिनका शिशुदेखि ८५ वर्षका वृद्धसमेत छन्।

नियमित औषधि सेवन गर्नेको स्वास्थ्य राम्रो भएको उनको भनाइ छ। औषधि खाइरहेका संक्रमितमध्ये ९७.६० प्रतिशतको संक्रमण नसर्ने अवस्थामा पुगेको छ। एक हजार कपीभन्दा कम भाइरसको संख्या भएका बिरामीबाट एचआईभी एड्स नसर्ने उनले जानकारी दिए।

सन् २०२२ को जनवरीदेखि हालसम्म जिल्लामा २७ जनामा एचआईभी संक्रमण पुष्टि भएको छ। समुदायमा परीक्षण गरिएका १२४ मध्ये दुई जना र एआरटी सेन्टरमा परीक्षण गरिएका १११ जनामध्ये २५ जनामा संक्रमण पुष्टि भएको हो। यस वर्ष ११६ जना नयाँ संक्रमितले एन्टी रेक्ट्रो भाइरल थेरापी (एआरटी) औषधि शुरू गरेका छन्। संक्रमितले दैनिक एक ट्याबलेट औषधि लिनुपर्ने हुन्छ। सेन्टरले एक पटकमा अवस्था हेरी एक महिनादेखि तीन महिनासम्मका लागि औषधि दिने गरेको छ।

जिल्लामा रहेका संक्रमित महिलामध्ये ३९ को पाठेघरको क्यान्सर परीक्षण गरिएको छ। संक्रमितमध्ये ८६ प्रतिशतलाई निःशुल्क स्वास्थ्य बिमामा सहभागी गराइएको हो। संक्रमितमध्ये सबैभन्दा बढी कामको खोजीमा भारत जाने महिला र पुरुष छन्। यसैगरी, यौन व्यवसायी र तिनका ग्राहक, तेस्रोलिंगी, यौनिक अल्पसंख्यक, लागुऔषध प्रयोगकर्तामा पनि संक्रमण देखिने गरेको छ।