हेलिकप्टर पाइलटको आन्दोलन: नलिनचोकबाट उडान बन्द, क्यानले बनायो अध्ययन समिति

हेलिकप्टर पाइलटले उठाएका विषयहरूको अध्ययन गरी महानिर्देशक समक्ष आवश्यक राय सुझाव बुझाउन क्यानले उक्त समिति गठन गरेको हो।

काठमाडौँ– हेलिकप्टर पाइलटहरूले भक्तपुरको नलिनचोकमा रहेको नवनिर्मित हेलिप्याडबाट उडान बन्द गरेका छन्।

निजी हेलिकप्टर कम्पनीका पाइलटले उक्त हेलिप्याड असुरक्षित भएको भन्दै बिहीबारदेखि आन्दोलनस्वरुप उडान बन्द गरेका छन्। उनीहरूले गत असार १६ गते उक्त हेलिप्याड असुरक्षित रहेको र आधारभूत पूर्वाधारसमेत नरहेको भन्दै क्यानलाई पत्र बुझाएका थिए।

आफ्ना माग सम्बोधन नभएसम्म उक्त हेलिप्याडबाट उडान नभर्ने पाइलटहरूले बताउँदै आएका छन्। यसैबीच, नागरिक उड्ययन प्राधिकरण (क्यान) ले यस विषयमा अध्ययन गर्न १२ सदस्यीय समिति गठन गरेको छ।

क्यानको अग्नि सुरक्षा र सेल्टर विभागका उपनिर्देशक प्रभाकर चन्द्र मल्लिकको संयोजकत्वमा गठित उक्त गठन गरिएको हो। क्यानका अनुसार हेलिकप्टर पाइलटले उठाएका विषयहरूको अध्ययन गरी क्यानका महानिर्देशक समक्ष आवश्यक राय सुझाव बुझाउन उक्त समिति गठन गरिएको हो।

नेपाल नागरिक उड्ययन प्राधिकरणका उपप्रबन्धक ज्ञानेन्द्र भुल अहिले लोड नभएर हेलिकप्टर उडान नभएका बेला उडाउँदिन भन्नुको कुनै अर्थ नरहने बताउँछन्।

“हिजो र आज फ्लाइट नभएर उडान भएको छैन। यस्तो वेलामा उडान गर्दिन भन्नुको कुनै तात्पर्य छैन। यो सबै मिडियाबाजी र नौटंकी हो,” उनी भन्छन् “टीआईएमा बसिरहेको मेन्टालिट हो। हिजो र अस्ति लोड नै थिएन। अफसिजनमा उडान नगरेका हुन्। सुरक्षाको विषयमा प्राधिकरणले सम्झौता गर्दैन। पाइलटले धेरै मिडियाबाजी गर्न आवश्यक थिएन।”