बढी पहिरोले देशका विभिन्न भूभागमा क्षति, राजमार्ग अवरुद्ध

पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–३ मौवाखोला नजिक खसेको पहिरो पन्छाएर सडक एकतर्फी खुलाइएको छ।

काठमाडौँ– निरन्तरको वर्षाका कारण देशका विभिन्न भागमा बढी पहिरोले भौतिक संरचनामा क्षति भएको छ। सडक अवरुद्ध हुँदा यातायातका साधन बाटोमा नै रोकिएका छन्। लमजुङ, दाङ, चितवन, वाग्लुङ, पर्वत, उदयपुरका विभिन्न सडक अवरुद्ध भएका छन्।

पहिरो खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ। भरतपुर महानगरपालिका–२९ स्थित झोलुंगे पुल र सिमलतालमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–३ मौवाखोला नजिक खसेको पहिरो पन्छाएर सडक एकतर्फी खुलाइएको छ। इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार वर्षा नरोकिएकाले ठाउँ–ठाउँमा पहिरो खसिरहेको छ। सडक दुईतर्फी खुलाउन अझै केही समय लाग्ने छ। यसैबीच, स्थानीय प्रशासनले अत्यावश्यक काम बाहेक यो सडकबाट यात्रा अनुरोध गरेको छ।

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी कोरिडोरअन्तर्गत पर्वतको मालढुंगा–बेनी सडक अवरुद्ध भएको छ। भारी वर्षाका कारण तीन ठाउँमा खसेको पहिरोले सडक अवरुद्ध बनेको हो। मालढुंगादेखि बेनीसम्म १३ किलोमिटर लामो बाटोको कुश्मा नगरपालिका– १ मालढुंगा नजिकै भिरबाट ढिस्को सहितको पहिरो खसको छ। त्यसैगरी जलजला गाउँपलिका–८ स्थित फनफनेमा पनि सडक अवरुद्ध भएको हो। 

पर्वतको मोदी गाउँपालिकामा ६ वटा घर पहिरोमा पुरिएका छन्। मोदी गाउँपालिका– २ देउपुरको जरुवाका ६ घर पुरिएका छन् भने जोखिममा रहेका अन्य ९ परिवार गरी १५ परिवार पूर्ण विस्थापित भएका जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।

उदयपुरको त्रियुगा नगरपालिका– १४ को रातमाटे डाँडामा पहिरो खस्दा गाईघाट दिक्तेल सडक अवरुद्ध भएको छ। बुधबार अपराह्नदेखि उक्त सडक अवरुद्ध भएको हो। एम्बुलेन्सलागयत अत्यावश्यक सवारीका साधन सञ्चालन गराउने प्रयास जारी छ। 

पहिरोका कारण मध्यपहाडी पुष्पलाल राजमार्गको बागलुङ खण्ड पनि अवरुद्ध भएको छ। बागलुङको काठेखोला गाउँपालिका–६ बयलडाँडास्थित सडकमा पहिरो खस्दा मध्यपहाडी पुष्पलाल राजमार्ग बन्द भएको जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी ऋषिराम कँडेलले जानकारी ए। 

लमजुङ र मनाङ जोड्ने बेँसीशहर–चामे सडक १० दिनदेखि बन्द छ। बाढीले मनाङको चामे गाउँपालिका–१ तिमाङखोलाको पक्की पुल बगाएपछि उक्त सडकमा सवारीसाधन सञ्चालन भएका छैनन्। 

२०७८ असार महिनामा आएको बाढीले बेलिब्रिज बगाएपछि तिमाङखोलामा काठेपुल राखेर सवारी सञ्चालन हुँदै आएको थियो। दुई वर्षअघि त्यहाँ मोटरेबल पक्की पुल निर्माण गरिएको थियो। 

बाढीका कारण घोराही–तुलसीपुर र घोराही सडक पनि अवरुद्ध भएको छ। पुल निर्माण जारी रहेको घोराही–तुलसीपुर खण्डमा गरिएको पथान्तरण बाढीमा बगेपछि उक्त सडक बन्द भएको हो।