प्रधानमन्त्रीलाई विश्वासको मत नदिने राप्रपा, जसपा र जनमतको निर्णय

राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने भएको छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल/फाइल तस्वीर

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने भएको छ।

बिहीबार बसेको राप्रपा, जसपा र जनमत पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको हो। प्रधानमन्त्री दाहालले बिहीबार प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यसूची छ। 

जनमत पार्टीको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको सो पार्टीका प्रवक्ता डा शरदसिंह यादवले जानकारी दिए। जनमतले नेपाली कांग्रेस र एमालेबीच भएको समझदारी अनुरूप नयाँ गठन हुने सरकारलाई समर्थन गर्ने निर्णय पनि गरेको छ। “प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई हामी (पार्टी) विश्वासको मत दिँदैनौँ, अब बन्ने नयाँ गठबन्धनलाई समर्थन गरेर जाने निर्णय भएको छ”, प्रवक्ता यादवले भने।

उनले कांग्रेस र एमालेबीचको नयाँ गठबन्धनले मधेश प्रदेशमा जनमत पार्टीको नेतृत्वको सरकारलाई स्वीकार गरेकाले नयाँ बन्ने संघीय सरकारको नेतृत्वलाई स्विकार्ने निर्णय भएको बताए। जनमत पार्टीको प्रतिनिधिसभामा ६ सांसद छन्।

त्यस्तै, राप्रपा पार्टीको शुक्रबार भएको संसदीय दलको बैठकले प्रधानमन्त्री दाहालले माग्नु भएको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय भएको सो पार्टीका प्रवक्ता मोहन श्रेष्ठले बताए।

साथै अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले पनि प्रधानमन्त्री दाहालले माग्नुभएको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। सो पार्टीको बिहीबारको संसदीय दलको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ “प्रधानमन्त्री दाहालबाट संविधानका धारा १०० को उपधारा (२) बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ प्रस्तुत प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरिएको छ।”