नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले २ वटा बस पुर्‍यो, केही यात्रु बेपत्ता

घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार शुक्रबार बिहान ३:३० बजे पहिरोले दुईवटा बस पुरेको हो।

चितवन– नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस पुरेको छ। ती बसमा चालकसहित ६३ रहेका बताइएको छ।

घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार शुक्रबार बिहान ३:३० बजे पहिरोले बस बगाएको हो। काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल बस पहिरोमा परेका हुन्। 

गौर जाँदै गरेको बसमा ४१  र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेको प्रजिअ यादवले बताए। “हामी घटनास्थलमा छौँ। पानी परिरहेको छ। उद्धारको काम थालिएको छ। पहिरो पन्छाउन शुरू गरिएको छ,” उनले भने, “ती बसमा रहेका यात्रुको  यकिन विवरण प्राप्त भई सकेको छैन। केही बेपत्ता भएको अनुमान छ।”