माओवादीसँग एकता हुने प्रचारमा सत्यता छैन : एकीकृत समाजवादी

नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउनु पर्नेमा आफूहरू प्रष्ट रहेको तर माओवादी केन्द्रसँग एकता गर्नका लागि भने छलफल नै नभएको एकीकृत समाजवादीले जनाएको छ।

काठमाडौँ– नेकपा एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रसँग एकता हुँदै छ भन्ने प्रचारमा सत्यता नभएको बताएको छ। एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले शुक्रबार विज्ञप्ति जारी गर्दै माओवादी केन्द्रसँग पार्टी एकता हुँदै छ भन्ने प्रचार निराधार भएको बताएका हुन्।

"विगत केही दिनदेखि विभिन्न सञ्चारमाध्यममा भइरहेको नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीच तत्काल एकता हुँदै छ भन्ने प्रचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको र स्पष्ट पार्न चाहन्छौँ कि यो प्रचार पूर्णतः निराधार हो, यसमा कुनै सत्यता छैन", भुसालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउनु पर्नेमा आफूहरू प्रष्ट रहेको तर माओवादी केन्द्रसँग एकता गर्नका लागि भने छलफल नै नभएको उनले उल्लेख गरेका छन्।

"नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउनु पर्ने आवश्यकता छ भन्नेमा हामी प्रष्ट छौँ तर अहिले त्यस सम्बन्धमा निर्णय त के कुनै छलफल वार्ता वा संवाद केही पनि भएको छैन। हुँदै नभएको प्रचार गराएर भ्रम सिर्जना गर्न खोजिएकाले त्यस्ता भ्रममा नपर्न सबैमा अनुरोध छ", विज्ञप्तिमा भनिएको छ।