कास्कीमा पहिरो: एकै परिवारका ७ सहित ९ जनाको मृत्यु

पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटका ४७ वर्षीय कुलबहादुर परियारको घर पहिरोले पुर्दा सात जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

कास्की– अविरल वर्षापछि पहिरो जाँदा बिहीबार राति पोखरामा एकै परिवारका सातसहित नौ जनाको मृत्यु भएको छ। पहिरोमा दुई जना बेपत्ता छन्।

पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटका ४७ वर्षीय कुलबहादुर परियारको घर पहिरोले पुर्दा सात जनाको घटनास्थलमै मृत्यु भएको डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए। पहिरोमा परेर कुलबहादुरसहित उनकी आमा ८५ वर्षीया लक्षिमा, पत्नी ४३ वर्षीया मनकुमारी, छोरी १५ वर्षीया प्रशना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार र छोरी राधिका परियारको निधन भएको हो।

राति १०ः३० बजे परिवारका सबै सदस्य जम्मा भएको बसेको बेला पहिरो खसेको बताइएको छ। दुई जनाको सकुशल उद्धार गरिएको डीएसपी शर्माले बताए। 

यसैगरी, पोखरा–३२ मा चैनपुरमा आरती ओझाको घर पहिरोले पुरिँदा १८ वर्षीया अनिता ओझा र नौ वर्षीय प्रतीक सुवेदीको मृत्यु भएको छ। ११ वर्षीया अनुस्का ओझा बेपत्ता छन्। 

पहिरोमा परेर मृत्यु भएका सबैको शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ। उता, मादी गाउँपालिका–११ मा पहिरोमा पुरिएर ८० वर्षीया माइतीकुमारी गुरुङ पनि बेपत्ता भएकी छन्। सोही पहिरोमा परेका ओमबहादुर गुरुङलाई भने सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।