चितवन पहिरो: दुवै बस त्रिशूलीमा खसेको आशंका, ६० जनाभन्दा बढी यात्रु बेपत्ता

नारायणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरोमा परेका दुवै बस त्रिशूली नदीमा खसेको आशंका प्रहरीले गरेको छ।

काठमाडौँ– नारायणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरोले बगाएर दुवै बस त्रिशूली नदीमा खसेको आशंका प्रहरीले गरेको छ।

सडकमाथिबाट खसेको पहिरोले बगाएर दुवै बस त्रिशूलीमा खसेको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिए। 

“दुवै बस नदीमा खसेको प्रारम्भिक अनुमान छ। प्रहरीले घटनास्थलमा पुगेर खोजीकार्य शुरू गरिसकेको छ,” उनले भने, “बस र यात्रुहरूको अवस्था अज्ञात छ। नदीमा बाढी आइरहेकाले समस्या भएको छ।”

शुक्रबार बिहान करिब साढे तीन बजेतिर वीरगन्जबाट काठमाडौँतर्फ आइरहेको एन्जल डिलक्स बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स बस भरतपुर महानगरपालिका–२९ सिमतालमा पहिरोमा परेका थिए। 

डीएसपी रिजालका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ आउँदै गरेको बसमा २४ जना यात्रु रहेको अनुमान छ। “यद्यपि यात्रुहरूको यकिन विवरण भने थाहा हुनसकेको छैन,” उनले भने।