कञ्चनपुरमा भएको ‘रेकर्ड ब्रेक’ वर्षाको अध्ययन

मौसमविद्हरूको टोलीले दोधारा चाँदनीमा भएको ‘रेकर्ड ब्रेक’ वर्षाको स्थलगत अध्ययन गरेको छ।

कञ्चनपुर– जल तथा मौसम विज्ञान विभागबाट खटिएका मौसमविद्हरूको टोलीले दोधारा चाँदनीमा भएको ‘रेकर्ड ब्रेक’ वर्षाको स्थलगत अध्ययन गरेको छ।

वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेल नेतृत्वको टोलीले बिहीबार दोधारा चाँदनीस्थित वर्षा मापन केन्द्रमा स्थलगत अध्ययन गरेको छ। टोलीले वर्षा मापन केन्द्र र त्यहाँ राखिएका उपकरण ठीक अवस्थामा भए/नभएको जाँच गरेकाबारे दोधारा चाँदनीस्थित वर्षा मापन केन्द्रको अध्ययन गरेको मौसमविद् डा. कँडेलले जानकारी दिइन्। यसका साथै दोधारा चाँदनी नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि र स्थानीयसँग छलफल गरिएको उनले बताइन्। 

“असार २३ र २४ गतेका दिन २४ घण्टाको अवधिमा ६२४ मिलिमिटर अर्थात् अहिलेसम्मकै सर्वाधिक वर्षा रेकर्ड हुँदा यति धेरै हुनसक्छ र भनेर त्यसमा सरोकारवालाले चासो देखाउनुभयो। त्यसपछि स्थलगत अध्ययनका लागि आएका हौँ,” वरिष्ठ मौसमविद् कँडेलले भने। दोधारास्थित वर्षा मापन केन्द्रका उपकरणको जाँच गरिएको र त्यसको नतिजा आउन केही समय लाग्ने उनको भनाइ छ। 

टोलीले शुक्रबार कञ्चनपुरको हनुमाननगर र सुन्दरपुर केन्द्रमा रहेको वर्षा मापन केन्द्रको पनि अध्ययन गर्ने कार्यक्रम छ। असार २३ र २४ गतेको वर्षाले नेपालमा हालसम्म भएको वर्षाको रेकर्ड तोडेको थियो। दोधारास्थित स्वचालित वर्षा मापन केन्द्रमा २४ घण्टाको अवधिमा रेकर्ड भएको ६२४ मिलिमिटर वर्षा नेपालमा वर्षा मापन थालेयताकै सबैभन्दा धेरै भएको कँडेलले बताइन्।

असार २३–२४ गतेको २४ घण्टा अवधिमै कञ्चनपुरका हनुमाननगर र सुन्दरपुर स्टेसनमा पनि अति भारी वर्षा रेकर्ड भएको थियो। हनुमाननगरमा ५७३.६ र सुन्दरपुरमा ५५६.४ मिलिमिटर वर्षा मापन भएको थियो। उक्त टोलीमा विभागका वरिष्ठ मौसमविद् कँडेलसँगै मौसमविद् शान्ति कँडेल, सुदर्शन हुमागाईं, सञ्जय शाह र दीनानाथ भण्डारी सहभागी छन्।