पहिरोले बगाएको बसमा थिए ७ भारतीय नागरिक

सिमलतालमा शुक्रबार बिहान पहिरोले त्रिशूली नदीमा बगाएका दुई बसमध्ये एउटामा सात जना भारतीय नागरिक रहेको प्रशासनले जनाएको छ।

चितवन– नारायणगढ– मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान पहिरोले त्रिशूली नदीमा बगाएका दुई बसमध्ये एउटामा सात जना भारतीय नागरिक रहेका खुलेको छ। 

वीरगन्जबाट काठमाडौँतर्फ गइरहेको वाग्मती प्रदेश ०३–००६ख १५१६ नम्बरको बसमा चालकसहित बसका तीन जना कर्मचारी, १४ जना यात्री र भारतीय नागरिक सात जना गरी  २४ जना रहेका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

हालसम्म जिल्ला प्रशासन कार्यालयले सात जना भारतीय नागरिकसहित १७ जनाको विवरण सार्वजनिक गरेको छ। 

सोही मार्ग भएर काठमाडौँबाट रौतहटको गौरतर्फ गइरहेको अर्को बस पनि त्रिशूलीमा खसेको छ। नदीमा खसेको बस अहिलेसम्म भेटिएको छैन। सो बसका यात्रुमध्ये तीन जना पौडिएर बाँच्न सफल भएका  छन्।

पहिरोले बगाएका दुवै बस र तिनमा सवार यात्रुको खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली परिचालन भएको छ।