बढीपहिरोमा परी जेठ २८ गतेयता १०३ जनाले गुमाए ज्यान, १०९ घाइते

बाढीपहिरोमा परी कोशी प्रदेशमा दुई जना, बागमती प्रदेशमा दुई जना र गण्डकी प्रदेशमा एक जना र सुदूरपश्चिम प्रदेशमा एक जना गरी ६ जना बेपत्ता भएका छन्।

तस्वीर : रासस

काठमाडौँ– अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा बाढीपहिरोलगायत भएका विपद्का घटनामा १०३ जनाको मृत्यु भएको छ। 

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बाढी, पहिरोलगायत विपद्मा परी काठमाडौँ उपत्यकामा एक जना, कोशी प्रदेशमा १९ जना, मधेश प्रदेशमा पाँच जना, बागमती प्रदेशमा ६ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा चार जना र सुदूरपश्चिम प्रदेशमा सात जना गरी १०३ जनाको मृत्यु भएको हो।

काठमाडौँ उपत्यकामा तीन जना, कोशी प्रदेशमा ३१ जना, मधेश प्रदेशमा आठ जना, बागमती प्रदेशमा चार जना, गण्डकी प्रदेशमा २८ जना, लुम्बिनी प्रदेशमा नौ जना, कर्णाली प्रदेशमा १५ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी १०९ जना घाइते भएका छन्।

कोशी प्रदेशमा ४१ र गण्डकी प्रदेशमा १२ जना गरी  ५३ जनाको उद्धार गरिएको छ। बाढीपहिरोमा परी कोशी प्रदेशमा दुई जना, बागमती प्रदेशमा दुई जना र गण्डकी प्रदेशमा एक जना र सुदूरपश्चिम प्रदेशमा एक जना गरी ६ जना बेपत्ता भएका छन्। बेपत्ताको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

बाढीका कारण १८२ घर डुबानमा परेका छन्। १८९ वटा घर, ७२ वटा गोठ, ४१ वटा पुल, एउटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति भएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ। उक्त अवधिमा विपद्का घटनाबाट तीन हजार ५४७ परिवार विस्थापित भएका छन्।