प्रधानमन्त्री दाहाल पदमुक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा पेश गरेको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पदमुक्त भएका छन्। शुक्रबार विश्वासको मत लिने प्रस्ताव प्रतिनिधिसभामा बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री दाहाल स्वतः पदमुक्त भएका हुन्।

प्रधानमन्त्री दाहालले राखेको प्रस्तावको पक्षमा ६३ मत पर्‍यो भने प्रस्तावको विपक्षमा १९४ मत परेको छ। बैठकमा उपस्थित २५८ सांसदमध्ये एक जना तटस्थ बसे।

प्रस्तावको पक्षमा परेको ६३ मत प्रतिनिधिसभामा कायम रहेको सदस्य संख्याको बहुमत कायम नभएकाले प्रधानमन्त्रीले राखेको विश्वसको मतको प्रस्ताव अस्वीकृत भएको सभामुख देवराज घिमिरेले घोषणा गरे।

प्रधानमन्त्रीले डेढ वर्षमै पाँचौँ पटक विश्वासको मत लिएका हुन्। प्रधानमन्त्री नियुक्त भएको १५ दिनपछि उनले पहिलो पटक २०७९ पुस २६ गते प्रतिनिधिसभाको जम्मा २७० जना सांसदमध्ये २६८ जनाको मत प्राप्त गरेका थिए। दुई जना सांसदले विपक्षमा मतदान गरेका थिए।

त्यसको झन्डै साढे दुई महिनापछि एमाले लगायतका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले २०७९ चैत ६ गते दोस्रो पटक विश्वासको मत लिएका थिए। 

प्रधानमन्त्री दाहालले २०८१ जेठ ७ गते कांग्रेस लगायतका विपक्षी दलको संसद् बैठक अवरोधबीच चौथो पटक विश्वासको मत लिएका थिए। त्यसबेला उनको पक्षमा १५७ सांसदले मत दिएका थिए भने एक जना सांसदले तटस्थ मत जाहेर गरेका थिए।

संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था छ। 

सोही धाराको उपधारा (३) मा उपधारा (१) र (२) बमोजिम पेश भएको प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित हुन नसकेमा प्रधानमन्त्री आफ्नो पदबाट मुक्त हुने व्यवस्था छ।