धनुषामा धानखेती गर्ने जमिन बर्सेनि घट्दै, उत्पादन लागत भने बढ्दो

विगतका तुलनामा धानखेती महँगो हुँदै गएको छ। उत्पादन लागत बढे पनि किसानले सो अनुसार मूल्य नपाएको गुनासो गरेका छन्।

फाइल तस्वीर।

जनकपुरधाम– धनुषामा  ४५ प्रतिशतभन्दा बढी धान रोपाइँ भएको छ। यस वर्ष समयमै मनसुन भित्रिएकाले अहिले धान रोपाइँ धमाधम जारी छ।

जिल्लामा विगतमा ४८ हजार ७६० हेक्टर जमिनमा धानखेती हुने गरेको थियो। यस वर्ष भने ४२ हजार हेक्टरमा मात्र धानखेती भएको कृषिज्ञान केन्द्र धनुषाले जनाएको छ। बागवानी अधिकृत प्रदीप यादवले  हालसम्ममा ४५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको जानकारी दिए। “पानीको अभावमा किसानले ढिलो गरी ब्याड राखेकोले रोपाइँ गर्न पनि केही ढिलो भएको हो,” उनले भने।

अधिकृत यादवका अनुसार जिल्लामा नहरलगायत विभिन्न माध्यमबाट ३५ हजार हेक्टर जमिनमा मात्र सिँचाइ सुविधा पुगेको छ। अझै ६५ प्रतिशत खेतमा आकाशे पानीको भरमा धानखेती हुँदै आएको बताइएको छ। 

विगतका तुलनामा धानखेती अहिले महँगो भएको छ। ट्याक्टरबाट खेत जोत्नका लागि प्रति घण्टा दुई हजार ५०० रुपैयाँ लिने गरेको छ। पानीको अभाव पूरा गर्नका लागि ट्यांकरबाट खेतमा पानी हाल्न प्रतिघण्टाको ५०० तथा प्रतिकामदार ४०० र १० किलो धान दिनुपर्छ। यसमा रासायनिक मलको थप मूल्य तिर्नुपर्ने हुन्छ। धानखेती महँगो भए पनि लागतअनुसार धान उत्पादनको बजार मूल्य नपाएको किसानको गुनासो छ।

गत आवमा जिल्लामा ४२ हजार हेक्टर जमिनमा गरिएको धानखेतीमा एक लाख १७ हजार ६०० मेट्रिकटन धान उत्पादन भएको सो केन्द्रद्वारा जारी तथ्यांकमा उल्लेख छ। अघिल्लो वर्षका तुलनामा २८ हजार ६८० मेटिकट्रन कम धान उत्पादन भएको छ।

जिल्लामा करिब सात लाख जनसंख्या रहेकामा ७० प्रतिशत धानखेतीमा संलग्न छन्। कृषि जनगणना २०७८ अनुसार जिल्लामा बिस्तारै धानखेती घट्दै गएकाले उत्पादनमा कमी आएको जनाइएको छ। अहिले ४२ हजार हेक्टर जमिनमा धान खेती भएको सो गणनामा उल्लेख गरिएको छ।

मधेश प्रदेश सरकारले कृषिमा आकर्षक नारा लगाए पनि किसानको समस्या समाधान हुन सकेको छैन।