बाजुरामा रोकिएको मतगणना पुनः शुरू

बाजुरामा रोकिएको मतगणना पुनः शुरू भएको छ। मुचुल्कामा भन्दा ४० वटा बढी मतपत्र भेटिएपछि शुक्रबार बिहान ८ बजेबाट मतगणना रोकिएको थियो।

काठमाडौँ– बाजुरामा विवादका कारण रोकिएको मतगणना पुनः शुरू भएको छ। मुचुल्कामा उल्लेख भएभन्दा बढी मत भेटिएपछि शुक्रबार बिहान रोकिएको मतगणना बेलुकाबाट शुरू भएको हो।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दलहरूसँगको छलफलपछि मतगणना शुरू भएको छ। मतगणना सञ्चालन गर्नका लागि मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले उम्मेदवार तथा दलहरूसँग छलफल गरेका थिए। छलफलमा कम्प्युटर इन्ट्रीका क्रममा गल्ती भएको निष्कर्ष निकाल्दै मतगणना अगाडि बढाउने सहमति भएको हो।

हिमाली गाउँपालिका–६ स्थित धिम मतदान केन्द्रमा खसेको मत गन्ने क्रममा बढी पाइएको थियो। मुचुल्कामा भन्दा ४० वटा बढी मतपत्र भेटिएपछि शुक्रबार बिहान ८ बजेबाट मतगणना रोकिएको थियो। कांग्रेसले षड्यन्त्र गरेर मत थपेको एमालेकाे आरोप लगाएको थियो।