कांग्रेसले समावेशिता र प्रादेशिक सन्तुलन मिलाएर मन्त्री चयन गर्ने

कांग्रेसले आगामी सरकारमा सहभागी हुने मन्त्रीहरू योगदान र योग्यताका आधारमा चयन गर्ने निर्णय गरेको छ।

काठमाडौँ– नेपाली कांग्रेसले आगामी सरकारमा सहभागी हुने मन्त्रीहरू योगदान र योग्यताका आधारमा चयन गर्ने निर्णय गरेको छ।

शनिबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले मन्त्री चयन गर्दा योगदान र योग्यताको मुख्य दुई आधारमा समावेशिता र प्रादेशिक सन्तुलनलाई दृष्टिगत गरेर चयन गर्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।

“नेपाली कांग्रेसको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरू चयन गर्दा योगदान र योग्यताको मुख्य दुई आधारमा समावेशिता र प्रादेशिक सन्तुलनलाई दृष्टिगत गरेर चयन गर्ने निर्णय गरिएको छ,” उनले भने।  

त्यस्तै बैठकले केपी शर्मा ओली नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने निर्णय पनि गरेको जानकारी दिए। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा पेश गरेको विश्वासको प्रस्ताव अस्वीकृत भएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकारका गठनका लागि शुक्रबार आह्वान गरेका थिए। त्यसलगत्तै नेकपा एमालेका अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउने गरी एमालेका र कांग्रेसका सांसदको समर्थनमा शुक्रबार नै दाबी पेश भएको छ।

नारायणगढ मुग्लिन सडकखण्डको सिमतालमा पहिरोमा परेर दुई बस त्रिशूली नदीमा खस्दा यात्रुहरूको अज्ञात अवस्था र कास्कीमा एकै परिवारका सात जनासहित ११ जनाको मृत्यु भएको घटना तथा अविरल वर्षका कारण देशभर विभिन्न भूभागमा बाढीपहिरो र डुबानमा परी भएको धनजनको क्षतिप्रति बैठकले गहिरो समवेदना व्यक्त गरेको उनले बताए।