त्रिशूलीमा बेपत्ता यात्रीमध्ये ३ को शव फेला

सिमलतालमा पहिरोले बगाएका बसका बेपत्ता यात्रीमध्ये तीन जनाको शव भेटिएको छ।

चितवन– नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले बगाएका बसका बेपत्ता यात्रीमध्ये तीन जनाको शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार तीन वटा शव भेटिएको छ भने दुई शवको पहिचान खुलेको छ।

पहिचान खुल्नेमा सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषि पल साह रहेका छन्। साहको शव शनिबार बिहान ११ बजे र माझीको शव साँझ भेटिएको हो। 

माझीका बुबा रवीन्द्रकिशोर माझी र साहका दाजुले सनाखत गरेको प्रहरी जनाएको छ।

काठमाडौँबाट गौर जान आउँदै गरेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बसमा सवार रहेका दुवै जनाको शव नारायणी नदीको गाँजीपुर र नवलपुर क्षेत्रमा भेटिएको हो। ती शवलाई भरतपुर अस्पतालको शवगृहमा राखिएको छ। 

शुरूकै दिनदेखि प्रहरीले बस तथा यात्रुको खोजी गरिरहेको छ तर अँध्यारो भएकाले शनिबार साँझदेखि खोजीको काम रोकिएको छ। आइतबार बिहान ७ बजेबाट पुनः काम शुरू गरिने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। उनका अनुसार आइतबार गृहसचिवसहितका सुरक्षा निकाय प्रमुखहरूले घटनास्थलको निरीक्षण गर्ने कार्यक्रम छ।

शुक्रबार काठमाडौँबाट गौर आउँदै गरेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरामा परी त्रिशूलीमा खसेका थिए। काठमाडौँबाट गौर आउँदै गरेको बसमा सवार २७ जना र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको बसमा सवार २४ जना बेपत्ता भएका थिए।