बैतडीको जीर्ण कारागारमा क्षमताभन्दा तेब्बर बन्दी, व्यवस्थापनमा चुनौती

२५ जनाका निम्ति बनाइएको कारागारमा ७६ जनालाई राखिएको छ।  चार दशकअघि बनेको कारागार भवन मर्मतसम्भार नहुँदा जीर्ण बन्दै गएको छ।

बैतडी– जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर बन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ। २५ जनाका निम्ति बनाइएको कारागारमा ७६ जनालाई राखिएको छ।  

चार दशकअघि बनेको कारागार भवन मर्मतसम्भार नहुँदा जीर्ण बन्दै गएको छ। क्षमताभन्दा बढी बन्दी राख्नुपर्नाले सुरक्षा र व्यवस्थापन चुनौती थपिएको कारागार प्रमुख धारा भण्डारीले बताए। टिनको छाना भएको भवनमा वर्षाको पानी चुहिन थालेपछि समस्या भएको छ। क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा सुरक्षा र व्यवस्थापनमा पनि चुनौती थपिएको उनको भनाइ छ। 

जेलर आवासगृह, सुरक्षा ब्यारेक पनि नभएको भण्डारीले बताए। कारागारमा स्वास्थ्यकर्मी नभएकाले कैदीबन्दी सामान्य बिरामी हुँदा अस्पताल लैजानुपर्ने बाध्यता रहेको जेलर भण्डारीले बताए। “स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दी सामान्य बिरामी हुँदा जिल्ला अस्पताल लैजानुपर्ने बाध्यता छ। जिल्लामा उपचार सम्भव नभएर धनगढी, काठमाडौँ रेफर गर्छौँ। स्वास्थ्यकर्मी नभएकोबारे गृह मन्त्रालयलाई जानकारी गराएर माग गरेका छौँ,” उनले भने। 

२०४० सालमा निर्माण गरिएको कारागार भवन मर्मत नहुँदा जीर्ण छ। नयाँ भवन निर्माणका लागि कारागार व्यवस्थापन विभागलाई लागत अनुमानसहितको विवरण पठाइएको जेलर भण्डारीले बताए।