सिमलताल पहिरो: तीनवटै शवको पहिचान

गैँडाकोट नगरपालिका–७ गैरीस्थित नारायणी नदीको टापुमा शनिबार भेटिएका दुई र भरतपुर–२८ गोलाघाटमा भेटिएको एक शव सिमलताल घटनाका यात्रुको भएको पुष्टि भएको प्रहरीले जनाएको छ।

तस्वीर: रासस।

भरतपुर– नारायणी नदीमा शनिबार भेटिएका तीनवटै शवको परिचय खुलेको छ। ती शव पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता बसका यात्रुको भएको प्रहरीले जनाएको छ। 

गैँडाकोट नगरपालिका–७ गैरीस्थित नारायणी नदीको टापुमा शनिबार भेटिएका दुईवटा र भरतपुर–२८ गोलाघाटमा भेटिएको एक शव सिमलताल घटनाका यात्रुको भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालले जानकारी दिए। उनका शनिबार भेटिएका तीनमध्ये एउटा शव चितवन माडी नगरपालिका–१ का २२ वर्षीय विकास परियारको भएको पुष्टि भएको छ। मृतकका दाजु विजय परियारले शवको सनाखत गरेका हुन्। 

वीरगन्जबाट काठमाडौँतर्फ गइरहेको बसमा उनी चढेका थिए। मृतक विकासको शव नजिकै फेला परेको अर्को शव पनि सिमलताल घटनामा बेपत्ता भएका यात्रुकै भएको पुष्टि भएको छ। उक्त शव सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझीको भएको प्रवक्ता रिजालले बताए।

गोलाघाटमा भेटिएको शव भारतको बिहार सीतामणी बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषि पल साहको भएको पुष्टि भएको छ। मृतकका बुबा रवीन्द्रकिशोर माझी र साहका दाजुले सनाखत गरेको प्रहरी जनाएको छ। दुई शव शनिबार नै आफन्तले लगेका छन्।

शुक्रबार काठमाडौँबाट गौर आउँदै गरेको बागमती प्रदेश ०३–००१ख २४९५ नम्बरको बस र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोमा परी त्रिशूलीमा बगेका थिए। काठमाडौँबाट गौर आउँदै गरेको बसमा सवार २७ जना र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको बसमा सवार २४ जना बेपत्ता भएका थिए। बेपत्ता बस र यात्रुको आइतबार पनि खोजी जारी छ। 

पहिरो खसेको सिमलताल र नारायणी नदी क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।