उकालोकर्मी दिपा दाहालसहित २ जनालाई ‘टंकप्रसाद–रमादेवी पाठक अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार’

हेम–सरिता पाठक फाउन्डेसनले 'टंकप्रसाद–रमादेवी पाठक अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार' उकालोकर्मी दिपा दाहाल र कान्तिपुरका मातृका दाहाललाई प्रदान गर्ने निर्णय गरेको छ। 

काठमाडाैँ– हेम–सरिता पाठक फाउन्डेसनले 'टंकप्रसाद–रमादेवी पाठक अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार' उकालोकर्मी दिपा दाहाल र कान्तिपुर दैनिकका मातृका दाहाललाई प्रदान गर्ने निर्णय गरेको छ। 

चर्चित प्रकरणहरूमा निष्पक्ष र निडर भएर समाचार सम्प्रेषण गरेकाे भन्दै दुवै जनालाई संयुक्तरूपमा दुई लाख राशिको उक्त पुरस्कार प्रदान गर्ने निर्णय भएको हेम–सरिता पाठक फाउन्डेसन नेपालका अध्यक्ष राधेश्याम लेकालीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

अमेरिकाको टेक्सासमा स्थापित फाउन्डेसन पत्रकारिता, साहित्य, संगीतलगायत विभिन्न क्षेत्रमा रहेर भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्दनमा सक्रिय छ। 

दिपा दाहालले बालमन्दिर जग्गा अपचलन तथा नेपाल बाल संगठनको बालगृहबाट बालबालिका बेचबिखन प्रकरण, बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा प्रकरण, विमानस्थल निर्माण प्रकरण, चिया विकास निगम जग्गा प्रकरण, खानेपानी प्रकरण र जुद्दोदय स्कुल प्रकरण जस्ता भ्रष्टाचार विरुद्धमा समाचार सम्प्रेषण गरेकी छन्। 

यस्तै, मातृका दाहालले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरण, सुन तस्करी प्रकरण, बालमन्दिर जग्गा अपचलन प्रकरण, पशुपतिनाथ जलहरी हिनामिना प्रकरण, सहकारी बचत अपचलन प्रकरण, नेपाल प्रहरीको हतियार खरिदमा भएको अनियमितता, पतञ्जली जग्गा अपचलन प्रकरणलगायत भ्रष्टाचारका विरुद्धमा लेखेका छन्।

पुरस्कार निकट भविष्यमा काठमाडौँमा एक समारोहको आयोजना गरी प्रदान गरिने जानकारी प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।