भद्रकाली सत्तल पुनर्निर्माण : सम्पदाजस्तो मात्र देखिने भवन नबनाउन आग्रह

परम्परागत नेवाः शैलीको आडमा दाची अप्पा टालेर, ज्याकेटिङ गरी सम्पदाजस्तो देखिने मिथक भवन निर्माण नगर्न अभियन्ताले गुठी संस्थान, काठमाडौँ महानगरपालिका र पुरातत्त्व विभागलाई सचेत गराएका छन्।

काठमाडौँ– लुमधि भद्रकाली सत्तल पुनर्निर्माणको शैलीबारेको विवादमा अभियन्ता तथा सरोकारवालाले आवाज उठाएका छन्।

बिहीबार शिलान्यास भएको सत्तलको पुनर्निर्माण राणाकालीन शैलीमा नभई त्यसअघिको मल्लकालीन शैलीमा गर्ने विषयमा काठमाडौँ महानगरपालिका र पुरातत्त्व विभागबीच मतभेद थियो। काठमाडौँ महानगर प्रमुख बालेन शाहले सामाजिक सञ्जालमार्फत भनेका थिए, “स्थानीय र पुरातत्त्व विभागले बेलायती शैलीमै बनाउन माग गरे पनि हाम्रो अडान पुरानो हाम्रो नेवारी परम्परागत शैलीमै बनाउने थियो र यही शैलीमै बन्नेछ। यो शुरूआत हो, हाम्रो परम्परागत शैलीमा फर्कने।” 

महानगरको यस निर्णयमा सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आएको छ। यता, अभियन्ता, अधिवक्ता, प्राध्यापकहरूको समूहले भने ‘सम्पदाजस्तो देखिने मिथक भवन’ निर्माण नगर्न सम्बन्धित पक्षलाई सचेत गराएका छन्।

यो पनि : भद्रकाली सत्तल पुनर्निर्माण: पुरातत्त्व र महानगरबीच शैलीमा विवाद

प्राडा. भरत शर्मा, प्राडा. सुदर्शनराज तिवारी, कनकमणि दीक्षित, अभियन्ता आलोकसिद्धि तुलाधर, अभियन्ता रूपा बस्नेत, वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा, अधिवक्ता सञ्जय अधिकारी, सरस्वती रश्मि शाक्य लगायतका व्यावसायिक क्षेत्रका १४ व्यक्तिले सामूहिक रूपमा विज्ञप्ति जारी गर्दै महानगरको पुनर्निर्माण शैलीमा ध्यानाकर्षण भएको जनाएका हुन्।

परम्परागत नेवाः शैलीको आडमा दाची अप्पा टालेर, ज्याकेटिङ गरी सम्पदाजस्तो देखिने मिथक भवन निर्माण गर्न लागेको उनीहरूको टिप्पणी छ। इतिहासको एउटा कालखण्डमा बनेको भवनले सो समयको सामग्री, सीप, प्रविधि, शैलीको प्रतिनिधित्व गर्ने हुँदा सो समयको स्मारक भत्काएर अन्य शैली र प्रविधिको प्रयोग गरी निर्माण गर्दा इतिहासप्रति अन्याय गरेको ठहरिने उनीहरूको भनाइ छ। त्यस्तै, यसले भावी पुस्ताका लागि समेत न्यायसंवत् नहुने, आफैँमा प्राचीन स्मारक संरक्षण ऐन, २०१३ को प्रतिकूल भई गैरकानूनीसमेत हुने विज्ञप्तिमा उल्लेख छ।

“नेवा: शैलीको घुम्टो ओढाइ समाजलाई विभाजित गरी इतिहास र सम्पदाको प्रतिनिधित्व गर्ने सत्तलहरू मास्ने यस्तो गैरकानून तथा अनैतिक कार्य नगर्न नगराउन र सो कार्यलाई तत्काल सच्याइ त्यहाँ जे जस्तो राणाकालीन सत्तल थिए सोही शैलीमा जीर्णोद्धार गर्न गुठी संस्थान, काठमाडौँ महानगरपालिका र पुरातत्त्व विभागलाई अनुरोध गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ।