मधेश प्रदेशमा बजेटबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन

मधेश प्रदेशमा बजेटका सम्बन्धमा उठेका सवाल छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय भएको छ।

जनकपुरधाम– मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि विनियोजन गरेको बजेटका सम्बन्धमा उठेका सवाल छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय भएको छ। 

मधेश प्रदेशसभाको आइतबारको बैठकमा सभामुख रामचन्द्र मण्डलले बजेटका सम्बन्धमा उठेका सवालबारे आवश्यक छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय भएको जानकारी गराएका हुन्।

उनले समितिको जिम्मेवारी निर्धारणका लागि मुख्यमन्त्री सतिशकुमार सिंह र जनता समाजवादी पार्टी (जसपा) नेपाल संसदीय दलका नेता सरोजकुमार यादवलाई जिम्मा दिने निर्णय भएको जानकारी दिए। 

मधेश प्रदेशमा जसपा, नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदेश सरकारको बजेट सच्याउनुपर्ने मागसहित यही असार १६ गते मुख्यमन्त्री सिंहलाई ज्ञापनपत्र बुझाएका थिए। यही विषयलाई लिएर प्रदेशसभा बैठक अवरुद्ध हुँदै आएको थियो। 

बैठक सञ्चालन र बजेट पारित गर्न आइतबार सभामुख मण्डलको अगुवाइमा सर्वदलीय बैठक बसेको थियो। बैठकले उच्चस्तरीय छानबिन समिति बनाउन मुख्यमन्त्री सिंह र जसपा नेता यादवलाई जिम्मेवारी दिने निर्णय गरेको थियो।