साँघु तरेर कालीगण्डकी वारपार गर्नुपर्ने समस्या हट्यो

दुई वटा तातोपानी कुण्ड रहेका पर्यटकीयस्थललाई जोड्न पूर्वाधार विकास कार्यालय म्याग्दीले कालीगण्डकी नदीमाथि १२६ मिटर लामो झोलुंगे पुल निर्माण गरेको हो।

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ र वडा नम्बर–५ पाउद्वार तातोपानी जोड्ने झोलुंगे पुल निर्माण भएपछि साँघु तरेर कालीगण्डकी वारपार गर्नुपर्ने समस्या हटेको छ।

दुई वटा तातोपानी कुण्ड रहेका पर्यटकीयस्थललाई जोड्न पूर्वाधार विकास कार्यालय म्याग्दीले कालीगण्डकी नदीमाथि १२६ मिटर लामो झोलुंगे पुल निर्माण गरेको हो। पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालय म्याग्दी र निर्माण कम्पनीबीच २०८० साउन महिनामा ९३ लाख ५० हजार ४८६ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। 

प्राविधिक नापजाँच र हस्तान्तरण हुन बाँकी रहेको पुल आवतजावतमा प्रयोग हुन थालेको कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलले बताए। “उपभोक्ताले प्रयोगमा ल्याइसकेको पुलको मूल्यांकन र ठेक्का टुंग्याउन बाँकी छ,” उनले भने, “यस पुलले स्थानीयवासीलाई आवतजावतका लागि सहजताका साथै पर्यटन विकासमा प्रभावकारी बन्ने देखिएको छ।”

पुल निर्माण भएपछि जोखिम मोलेर कालीगण्डकी नदीमा साँघु (अस्थायी काठको पुल) तर्नुपर्ने अथवा नारच्याङको घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता हटेको पाउद्वार तातोपानीका बासिन्दा कमल तिलिजा पुनले बताए।

“कालीगण्डकी किनारमा प्राकृतिक रुपमा निस्कने तातोपानी संकलन गरिएको पोखरीमा शरीर डुबाएर स्नान र उपचार गर्नेको सहजताका लागि हिउँदमा कालीगण्डकी नदीमा साँघु राख्ने गरिएको थियो,” उनले भने, “बर्खा याममा पाउद्धार तातोपानी कुण्ड आउन नारच्याङ हुँदै ४० मिनेट घुमाउरो बाटो हिँड्नु पर्दथ्यो।”