लुम्बिनी प्रदेशको खर्च ६६ प्रतिशत मात्र

चालु आर्थिक वर्षमा लुम्बिनी प्रदेश सरकारले ६६.१४ प्रतिशत खर्च गरेको छ।

रुपन्देही– चालु आर्थिक वर्षमा लुम्बिनी प्रदेश सरकारले ६६.१४ प्रतिशत खर्च गरेको छ। प्रदेश सरकारले चालु आवमा चालुतर्फ १७ अर्ब २२ करोड २७ लाख ९९ हजार रुपैयाँ विनियोजन गरेकामा १० अर्ब ७४ करोड २७ लाख ९३ हजार ३५५ रुपैयाँ मात्र खर्च भएको छ।

पुँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख एक हजार रुपैयाँ विनियोजन भएकामा १६ अर्ब तीन करोड सात लाख १७ हजार ८४७ रुपैयाँ खर्च भएको प्रदेश कोष नियन्त्रक दीपक ज्ञवालीले जानकारी दिए। प्रदेश सरकारले आव २०८०/८१ मा ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँ विनियोजन गरेको थियो।

विनियोजन भएकोमध्ये ६६.१४ प्रतिशत अर्थात २६ करोड ७७ करोड ३५ लाख ११ हजार २०३ रुपैयाँ मात्र खर्च गरेको कोष नियन्त्रक ज्ञवालीले बताए। उनका अनुसार चालु आवमा चालु खर्च भन्दा पुँजीगत खर्च बढी भएको छ। सबैभन्दा बढी खर्च खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालयले ७७.४० प्रतिशत गरेको छ भने सबैभन्दा कम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १६.६९ प्रतिशत मात्र खर्च गरेको छ।