रूस–युक्रेन युद्ध अन्त्यका लागि पुटिनसँग भेट्न तयार छु: बाइडेन

फ्रान्सका राष्ट्रपति म्याक्रोँले दबाबपूर्ण सम्झौताका लागि युक्रेनलाई कहिल्यै आग्रह नगर्ने विषयमा आफू र बाइडेनबीच सहमति भएको बताएका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्न तयार रहेको बताएका छन्। समकक्षी पुटिनले युद्ध अन्त्यका लागि बाटो खोजिरहेकाले आफू पनि यसै विषयमा केन्द्रीत भएर उनीसँग भेट्ने इच्छा राखेको बाइडेनले बताएका हुन्।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँसँगको भेटमा बाइडेनले यस्तो बताएका हुन्। रुसी युद्धविरुद्ध उभिने प्रयासबारे छलफलका लागि फ्रान्सेली राष्ट्रपति म्याक्रोँ र समकक्षी बाइडेनबीच भेट भएको हो।

साझा धारणाबारे छलफलका लागि बाइडेनसँग भेट्ने विषयमा राष्ट्रपति पुटिन सकारात्मक रहेको रुसी राष्ट्रपति कार्यालय क्रेमलिनको प्रतिक्रिया छ। यद्यपि, रूसी प्रवक्ता दिमित्री पेस्कोभले भने अमेरिकासँगको वार्ताका लागि मस्को तयार नरहेको बताएका छन्।

पेस्कोभले भन्छन्, “ पहिले राष्ट्रपति बाइडेनले पुटिनले युक्रेन छाडेपछि मात्रै संवाद सम्भव छ भनेका थिए। तर, अमेरिकाले रूसका नयाँ भू-भागलाई पनि मान्यता नदिएको अवस्थामा हाल वार्ताको आधार खोज्न कठिन छ।” तीन भूभागहरू गत सेप्टेम्बरमा रूसले अवैध रूपमा युक्रेनबाट आफ्नो भूमिका गाभेको थियो।

ह्वाइट हाउसमा अमेरिकी र फ्रान्सेली समकक्षीबीचको दुई पक्षीय भेटपछि संयुक्त विज्ञप्ति जारी गर्दै युक्रेनको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षाका लागि सहायतालाई निरन्तरता दिने प्रतिबद्धता जनाएको बीबीसीले उल्लेख गरेको छ। साथै, युक्रेनलाई हवाई रक्षा प्रणाली उपलब्ध गराउने र युक्रेनमा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने योजनाका लागि डिसेम्बर १३ मा पेरिसमा पुनः भेट गर्ने विषयमा पनि सहमति जुटेको विज्ञप्तिमा जनाइएको छ।

फ्रान्सका राष्ट्रपति म्याक्रोँले दबाबपूर्ण सम्झौताका लागि युक्रेनलाई कहिल्यै आग्रह नगर्ने विषयमा आफू र बाइडेनबीच सहमति भएको पनि बताए।