हालसम्म नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा नौ, चितवनमा तीन र नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)मा एउटा गरी १३ शव भेटिएको प्रहरीले जनाएको छ।
नवलपरासी– चितवनको भरतपुर–२९ सिमलतालमा शुक्रबार बिहान गएको पहिराले बगाएर बेपत्ता भएका यात्रुमध्ये नवलपुरमा नौ वटाको शव भेटिएका छन्। यीसहित हालसम्म नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा नौ, चितवनमा तीन र नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)मा एउटा गरी १३ शव भेटिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले सोमबार मात्रै जिल्लामा चार वटा शव भेटिएका जानकारी दिए। नवलपुरमा हालसम्म भेटिएका नौ शवमध्ये पाँचको पहिचान खुलेको र ती बेपत्ता बसका यात्रु रहेको पुष्टि भएको पौडेलले जानकारी दिए।
सोमबार यहाँ चार वटा शव भेटिएका थिए, ती शवको पहिचान हुन सकेको छैन। शव पहिरोमा परेर बेपत्ता भएका यात्रुको हुनसक्ने भन्दै सोहीअनुसार अनुसन्धान अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक पौडेलको भनाइ छ।
सोमबार बिहान गण्डक ब्यारेज पुलमा भेटिएका दुई शवमध्ये एउटा करिब १९ वर्षीया महिला र अर्को करिब ३० वर्षीय पुरुष रहेका प्रहरीले जनाएको छ। यस्तै, सोमबार नै मध्यविन्दु–२ भुताहास्थित नारायणी नदीको टापुमा भेटिएको शव करिब ४५ वर्षीय पुरुषको तथा विनयी त्रिवेणी गाउँपालिका–७ गण्डक ब्यारेजको पुलमा करिब १३ वर्षीय बालकको रहेको पौडेलले जानकारी दिए।
जिल्लाको गैँडाकोट–७ गैरीमा भेटिएका दुई वटा शवमध्ये एउटा सर्लाहीको बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमित कसुर माझी र अर्को चितवनको माडी–१ का २२ वर्षीय विकास परियारको भएको पौडेलले बताए। माझीको शव बुवा रवीन्द्र कुसर माझीले तथा परियारको शव दाजु विजय परिवारले पहिचान गरेका थिए।
माझी काठमाडौँबाट रौतहट जाने गणपति डिलक्सको बागमती प्रदेश ०३–००१ख– २४९५ र परियार वीरगन्जबाट काठमाडौँ जाँदै गरेको एन्जल डिलक्सको बागमती प्रदेश ०३–००६ख– १५१६ नम्बरको बसमा सवार यात्रु भएको जनाइएको छ।
शनिबार गैँडाकोट–७ गैरीमा भेटिएको अर्को शव भारतको बिहार राज्यस्थित बेतियाका ३० वर्षीय सजाद अन्सारी भएको पौडेलले जानकारी दिए। अन्सारी वीरगन्जबाट काठमाडौँ जाँदै गरेको एन्जल डिलक्सको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बसमा सवार यात्रु भएको उनले बताए।
यस्तै, आइतबार साँझ जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–७ स्थित ब्यारेजको गण्डक नहरमा भेटिएका दुवै शवको सोमबार बिहान पहिचान भएको छ। गण्डक नहरमा भेटिएकामध्ये एउटा चितवनको भरतपुर–२२ का २३ वर्षीय सुदीप विक रहेको बुवा सोमबहादुर विकले पहिचान गरेका थिए।
सुदीप वीरगन्ज जाँदै गरेको एन्जल डिलक्सका यात्रु थिए। यसैगरी, अर्को शव रौतहटको जमुनामाई गाउँपालिका–४ का १७ वर्षीय राहुम मियाको भएको उनका बुवा इस्लम मियाले पहिचान गरेका छन्। मिया गणपति डिलक्समा काठमाडौँबाट गौर जाँदै थिए।
पहिरामा परी बेपत्ता भएकामध्ये चितवनतर्फ भारतको सीतामाडी बर्गिनियाका २८ वर्षीय ऋषिपाल साह, भारतकै सीतामाडी बेतियाका ३० वर्षीय जयप्रकाश ठाकुर रहेका छन् । आइतबार नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) मा भेटिएको शव बाराको साबिक विश्रामपुर गाविस–४ का ४३ वर्षीय परमानन्द पण्डितको भएको र अर्का करिब ३५ वर्षीय पुरुषको पहिचान हुन नसकेको जनाइएको छ।
हालसम्म तीन वटा जिल्लामा भेटिएका १३ वटा शवमध्ये पाँच वटाको पहिचान हुन सकेको छैन। पहिचान खुलेका सबै शव चितवनको भरतपुर अस्पताल पठाइएको र बाँकी शवको पहिचान खुलेपछि भरतपुर पठाइने प्रहरी नायब उपरीक्षक पौडेलको भनाइ छ।
सिमलताल पहिरोमा परेर हराएको वीरगन्जबाट काठमाडौँ जाँदै गरेको एन्जल डिलक्सको बसमा कम्तिमा २४ जना र काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको गणपति डिलक्समा कम्तीमा २७ यात्रु रहेको चितवन प्रशासनले जनाएको छ। बसमा सवार यात्रुमध्ये तीन जना त्रिशूली नदीमा पौडी खेलेर बाँच्न सफल भएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
