बाढीपहिरोबाट ज्यान गुमाएकाका परिवारलाई राहत दिने मन्त्रिपरिषद्को निर्णय

विपद्का कारण बेपत्ता भएको १० दिनसम्म पनि फेला पर्न नसकेका व्यक्तिलाई मृतकसरह राहत उपलब्ध गराउने निर्णय भएको पनि सकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए।

काठमाडौँ– मन्त्रिपरिषद् बैठकले बाढीपहिरो एवं प्राकृतिक प्रकोपमा परी ज्यान गुमाएकाका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ। सोमबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता सम्पन्न मन्त्रिपरिषद्को पहिलो बैठकले यस्तो निर्णय गरेको हो। राहत स्वरूप कति रकम उपलब्ध गराउन लागिएको हो भन्ने खुलाइएको छैन।

साथै, विपद्का कारण बेपत्ता भएको १० दिनसम्म पनि फेला पर्न नसकेका व्यक्तिलाई मृतकसरह राहत उपलब्ध गराउने निर्णय गरेको नेपाल सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नै उनलाई सरकारको प्रवक्ता तोक्ने निर्णय गरेको हो।

त्यस्तै, सरकारले कीर्तिपुरमा सुविधासम्पन्न खेल मैदान बनाउने निर्णय गरेको छ। रंगशालामा दर्शक बस्न प्यारापिट, रात्रिकालीन खेलकुदका लागि फ्ल्ड लाइट र आवश्यक संरचना बनाउने निर्णय गरिएको छ। उक्त कामका लागि तीन सय दिनको समयसीमा निर्धारण गरिएको उनले बताए।

बैठकले २०८२ असार मसान्तसम्म नेपाललाई सडक बालबालिका मुक्त गराउने, जाजरकोट भूकम्प प्रभावितलाई दोस्रो र तेस्रो किस्ता बापतको रकम उपलब्ध गराउने निर्णय भएको पनि उनले बताए।

सरकारले प्रधानमन्त्री कार्यालयका सचिव, निमित्त मुख्यसचिव लीलादेवी गर्तौलालाई कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिएको छ। प्रवक्ता गुरुङले आगामी मन्त्रिपरिषद्को बैठकका निर्णय २४ घण्टापछि मात्रै सार्वजनिक हुनेसमेत बताए।