बढ्यो पेट्रोल र डिजेलको मूल्य

निगमले पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँका दरले मूल्य बढाउने निर्णय गरेको छ।

काठमाडौँ– नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ। सोमबार बसेको निगम सञ्चालन समितिको बैठकले पेट्रोल प्रतिलिटर चार रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँका दरले बढाउने निर्णय गरेको हो।

निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट सोमबार प्राप्त नयाँ खरिद मूल्य सूचीमा पेट्रोल प्रतिलिटर चार रुपैयाँ ४८ पैसा र डिजेल प्रतिलिटर दुई रुपैयाँ ८३ पैसाले बढेर आएको थियो। बढेको मूल्य मंगलबार बिहान १ बजेबाट लागू हुने निगमले जनाएको छ।

मूल्यवृद्धि सँगै अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर १७१ रुपैयाँ पुगेको छ भने डिजेल तथा मट्टितेलको मूल्य १६० रुपैयाँ कायम भएको छ। निगमले जारी गरेको विज्ञप्तिमा खाना पकाउन एलपी ग्यास र हवाई इन्धनको मूल्य फेरबदलबारे भने खुलाइएको छैन।

नेपालमा हरेक १५ दिनमा इन्डियन आयल कर्पोरेसनले पठाउने खरिद मूल्य सूचीका आधारमा पेट्रोलियम पदार्थको मूल्य फेरबदल हुने गर्दछ।