रुकुम पश्चिममा बाढीले घर बगाउँदा ३ बालबालिका पुरिए, १ जना बेपत्ता

लेदो माटोमा पुरिएका बालबालिकालाई निकाल्ने प्रयास भइरहेको आठबीसकोट नगरपालिका प्रमुख रवि केसीले बताए। उद्धारका लागि प्रहरी र स्थानीयवासी खटिएका छन्।

फाइल तस्वीर।

काँक्रेविहार– रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१२ बगरस्थित तातोपानी झिन्चौर खोलामा सोमबार राति आएको बाढीले घर बगाउँदा तीनजना बालबालिका पुरिएका छन्। आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीका अनुसार आठ वर्षीया हितमाया पुन, पाँच वर्षीया धनिसा पुन, चार वर्षीया मनिसा सार्की पुरिएका हुन्। ४० वर्षीय डिल्लीबहादुर बुढाथोकी बेपत्ता छन्। 

बाढीले घर बगाउँदा  १० वर्षीय विजय सार्की,  २२ वर्षीया अनिसा पुन, २९ वर्षीय जनक खत्री, ६५ वर्षीया मनसरी पुन, चार वर्षीया मेक्सन पुन, २० वर्षीया धनमाया पुन र ६५ वर्षीया कल्पाना कामी घाइते भएको प्रमुख केसीले बताए। 

“लेदो माटोमा पुरिएका बालबालिकालाई निकाल्न सकिएको छैन। उद्धारका लागि प्रहरी र स्थानीयवासी जुटिसकेका छन्,” उनले भने, “घाइतेलाई आठबीसकोट नगर अस्पताल राडीमा ल्याउने काम जारी छ।”